इटहरी : जेष्ठ नागरिक सरोकार समुह झुम्काले निर्माण गरेको ज्येष्ठ नागरिक भवनको उद्घाटन भएको छ ।
शनिबार एक समारोहबीच जगतगुरु बाल सन्तले भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन समारोहमा भवन निर्माण कार्यमा सहयोग पुर्याउने दाताहरुलाई सम्मान समेत गरिएको थियो । भवनको लागि एक कठ्ठा जग्गा प्रदान गर्ने हिरण्यप्रसाद ढकाल, भवन निर्माणका लागि सबै भन्दा बढी ५ लाख रकम सहयोग गर्ने मेनमाया थापालगायतका दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी भवन निर्माणमा सहयोग गर्ने दुर्गाबहादुर बस्नेत, कृष्ण नारायण थापा, सञ्जु भण्डारी, सक्तिबहादुर थापा, दिपक थापा, रणवहादुर थापालगायतलाई पनि सम्मान गरिएको थियो । दस धुर जग्गामा सभा हलसहितको भवन निर्माणका लागि ५० लाख लागत लागेको अध्यक्ष फौजसिंह थापाले जानकारी दिए । ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नु भनेको इतिहासको सम्मान गर्नु हो भन्दै वक्ताहरुले भोलीको दिनमा आफुहरुसमेत ज्येष्ठ नागरिक बन्ने हुँदा सवैले ज्येष्ठ नागरिकहरुलाई कदर गर्नु पर्नेमा जोडदिए । कार्यक्रममा दुर्गा वहादुर वस्नेत, नारायण कोइराला लगायतले वोलेका थिए ।