धरान : प्रहरी र वन कार्यालयले प्रतिबन्धित बहुमुल्य काठ रक्तचन्दनको आंशकामा पक्राउ गरेको काठको टुक्राहरु अन्ततः सतिसाल प्रमाणित भएको छ ।
धरानबाट प्रहरीले तीन दिनअघि २ जना व्यक्तिको साथबाट १ सय ४ वटा काठको टुक्राहरु वरामद गरेको थियो । प्रहरीले ती काठको टुक्रा रक्तचन्दनको आशंका गरेर तत्कालै धरान ८, तीनकुनेस्थित सेक्टर वन कार्यालयलाई खबर गर्यो । वन कार्यालयले पनि रक्तचन्दन भए नभएको पुष्टि गर्न केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि पठाएको थियो ।

kapuri-R2

 

‘रक्तचन्दन हो कि भन्ने आशंका गरिएको थियो । प्रहरीको आशंका पनि त्यही थियो,’सहायक वन अधिकृत ज्ञानकुमार लामाले भने,‘त्यही भएर परीक्षणको लागि केन्द्रीय प्रयोगशाला पठाएका थियौं, रक्तचन्दन नभएर सतिसाल भएको पुष्टि भयो ।’
वन कार्यालयका अनुसार पक्राउ परेको दुवै जना बराहक्षेत्र नगरपालिकास्थित वगुवाका हुन् । नाम सोमबार उपलब्ध गराउने भन्दै सहायक वन अधिकृत लामाले खुकुरीको बिड बनाउनको लागि काठको टुक्रा बनाएर बिक्रीको लागि लैजादै गरेको खुलेको बताए । ‘सानो सानो टुक्रा बनाएर बोकेको हुनाले रक्तचन्दन हो कि भन्ने लागेको थियो । हेर्दा पनि उस्तै देखियो । तर, वगुवातिरबाट खुकुरीको विड बनाउन टुक्रा बनाएको रहेछ,’उनले भने । पक्राउ परेका दुवै जनालाई तरहरास्थित वन कार्यालयको हिरासत कक्षमा राखिएको छ । पक्राउ परेको काठको टुक्राहरु १ सय ४ थान छ । यसको परिमाण ९ क्युफिट भएको वन कार्यालयले जनाएको छ । काठका टुक्राहरु १ केजी र २ केजीको परिमाणको रहेको छ ।