पथरी : मोरङको पथरी शनिश्चरे २ स्थित देवीगञ्जका छत्रपाल राईको घरमा आगलागी हुदा ६ लाख रुपैयाँ बढीको धनमाल जलेर क्षति भएको छ ।
गएराती १० बजेको समयमा खोले पकाउने ठाउँमा ननिभेको आगो सल्केर घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, ४ मन चामल, ४ मन तोरीसहितका खाद्यान्न जलेर नष्ट भएको घरधनी राईले बताए । स्थानीयले आगो नियन्त्रणमा लिइसकेपछि दमक र इटहरीको दमकल आइपुगेको थियो । आगलागीबाट एउटा बाच्छी मरेको छ भने एउटा गाई र एउटा खसी घाइते बनेको छ ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितका जनप्रतिनिधिहरुले विहानै आगलागीबाट भएको क्षतिको अवस्था अवलोकन गरेका छन् ।