धरान : सडकमा वेवारिसे अवस्थामा महिला अधिकारकर्मीहरुले उद्दार गरिएकी करिब ३० बर्षकी निशा राईलाई इटहरीको माया घर नेपालले संरक्षणको जिम्मा लिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक वार्डमा करिब एक महिनासम्म उपचार गराएपछि उनलाई माया घरले जिम्मा लिएको हो । माया घरले संरक्षणको जिम्मा लिने बताए पछि महिला सञ्जाल धरानका पदाधिकारी र महिला प्रहरीले इटहरी पुर्याएर जिम्मा लगाएका थिए । निशालाई लिएर सञ्जालकी सचिव कोपिला भटराई, कोषाध्यक्ष लहरु माया जिमी, एकल महिला समुहकी सुनसरीकी अध्यक्ष इन्दुदेवी श्रेष्ठ र महिला प्रहरी सेल प्रमुख यज्ञ सुवेदी पनि गएर माया घरकी अध्यक्ष राधिका दास जी महाराज र सचिव सुभद्रा प्याकुरेल(सुवेदी)लाई जिम्मा लगाएका थिए । ‘निशाको घर, परिवार कही पनि पत्ता लागेन, माया घर इटहरीले संरक्षणको जिम्मा लिने भएपछि महिला प्रहरीसहित गएर जिम्मा दिएका छौं,’सञ्जालकी अध्यक्ष सविता राईले भनिन्,‘उपचार पछि धेरै राम्रो भएको छ । हाँसेर बोल्ने, मान्छे चिन्ने, गफ गर्ने भएको छ ।’
निशालाई भदौ तेस्रो साता धरान १ छाता चोकबाट महिला सञ्जालको टोलीले उद्दार गरेको थियो । वेवारिस र मानसिक सन्तुलन गुमेको अवस्थामा प्रहरीको सहयोग लिएर उनलाई बीपी प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानको मानसिक वार्डमा राखेर करिब २७ दिनसम्म निशाको उपचार भएको थियो । उनको उपचारमा अस्पताल निर्देशक डा.गौरीशंकर साहमार्फत निःशुल्क उपचार भएको थियो । तर, औषधी र कुरुवा राख्नलाई भने सञ्जालले आर्थिक सहयोग जुटाउनु परेको कोषाध्यक्ष लहरुमाया जिमीले बताइन् । ‘अरु वार्डमा भए त हुन्थ्यो, मानसिक वार्डमा चौबिसै घण्टा कुरुवा बस्नु पर्ने थियो । त्यसैले एक जना महिलालाई पैसा दिएर राख्यौं, प्रहरीबाट पनि सहयोग भयो,’उनले भनिन् ।
कोषाध्यक्ष जिमीका अनुसार निशाको उपचारको लागि धरान उपमहानगरपालिकाबाट १५ हजार, मितेरी विकास बैंकले १० हजार, डिपोट स्कुलकी दुर्गादेवी राईले २ हजार, वन्दना थापाले १५ सय, राधिका राईले १ हजार र सामना नेपालले १ हजार आर्थिक सहयोग गरेका थिए । उक्त सहयोग कुरुवालाई र कुरुवाको खानामा, निशाको औषधीमा खर्च भएको पनि सञ्जालले जानकारी दिएको छ । यस्तै, निशाको जिम्मा लिने माया घरलाई पनि ५ हजार प्रदान गरिएको सञ्जालकी सचिव कोपिला भटराईले जानकारी दिइन् ।
माया घर हिंसा पीडितहरुको संरक्षण गर्दै समाजमा स्थापित गराउनको लागि एक बर्ष अघि स्थापना भएको हो । दाताहरुको सहयोगमा माया घरले इटहरी २ आयुर्वेदिक टोलमा १० कट्ठा ८ धुर जग्गा खरीद गरिसकेको छ । उक्त जग्गामा ८ कोठे पक्की भवन, कम्पाउण्ड वाल र अन्य पुर्वाधार बनाउने लक्ष्य राखिएको सचिव सुभद्रा प्याकुरेल(सुवेदी)ले जानकारी दिइन् ।