धरान : चाडपर्वलाई लक्षित गर्दै धरानमा रमाइलो मेला लाग्ने निश्चित भएको छ । धरान उपमहानगरपालिकाको बिहिबार बिहान सम्पन्न कार्यपालिका बैठकले धरान १२ स्थित छिमेकी युवा समुहलाई मेला लगाउने स्वीकृति दिएको हो ।
गत बर्ष पनि मेला लगाउने चर्चा हुदा स्वर्गीय मेयर तारा सुब्बाले अस्वीकार गर्दै कार्यपालिका बैठकमा एजेण्डा नै लगेका थिएनन् । यो बर्ष भने बडा दशैं शुरु भइसकेपछि बिहिबार बिहान बसेको कार्यपालिका बैठकले मेला सम्बन्धी एजेण्डा पारित गरेको हो । बैठकले धरान ६ मा ब्वाइज युनियनलाई पानवारी महोत्सव आयोजना गर्न र धरान १२ स्थित छिमेकी युवा समुहलाई सस्तो बजार तथा रमाइलो साँस्कृतिक उत्सव नामको मेला आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणीराम राईका अनुसार चाडपर्वलाई रमाइलो बनाउनका लागि मेला चलाउन स्वीकृति दिने नीतिगत निर्णय कार्यपालिका बैठकले गरेको हो । बैठकले मेलाको लागि मापदण्ड तयार गर्न एउटा अनुगमन समिति पनि गठन गरेको छ । ‘मेलालाई विसुद्ध मनोरञ्जनमुलक बनाउन, विकृति विसंगति मुक्त बनाउन अनुगमन समिति बनाउने निर्णय पनि भएको छ,’प्रवक्ता राईले भने,‘समितिले नै कहिलेदेखि कहिलेसम्म मेला लगाउने, कति बजेसम्म लगाउने, प्रवेश शुल्क कति लिने, मेलालाई कति राजश्व लिने भन्ने मापदण्डहरु बनाउछ ।’

जुवाजन्य खेल तमासाहरुले विकृति बढाएको, मेला लगाउन आर्थिक चलखेल र मेलाको नाममा युवाहरुबीच काटमारको स्थिति सृर्जना भएपछि केही बर्षदेखि नगरपालिक र प्रशासनले नै धरानमा मेलालाई प्रतिबन्ध लगाएको थियो । गत बर्ष पनि मेलाको स्वीकृति नदिएको कार्यपालिकाले यो बर्ष भने योजनावद्धरुपमा मेलाको एजेण्डा बैठकमा लगेर स्वीकृति दिएको हो । विगतका मेलाहरुमा राजनीतिक नेता, युवा समुह, नगरपालिकाको कर्मचारीको मिलेमतो हुदै आएको थियो ।

लाखौंको चलखेल हुने भएकोले मेला हात पार्न २ दर्जन बढी संघसंस्थाहरुले निवेदन दिने र अन्त्यमा पैसा लिएर एउटा संस्थालाई सहमति दिने चलन थियो । जसले गर्दा मेला चलाउन स्वीकृति पाउने संस्थाले पहिल्यै लाखौं रुपैया लगानी गर्नुपथ्यो । मेला आयोजकबाट धरानका राजनीतिक दलका नेतृत्वले पनि आर्थिक लाभ पाउथे । कार्यपालिकाका प्रवक्ता राईले विगतमा भएको विकृति, विसंगतिहरुबारे सुनेपनि यसपाली मापदण्ड तोकेर मात्र सञ्चालन गर्न दिइने दाबी गरे । उनले भने,‘विगतको कुरा सुनेका छौं, आर्थिक चलखेल भएकै हो । तर, यसपाली ती सबैलाई नियन्त्रण गरेर मात्र चलाउन दिने भन्ने हो ।’

अनुगमन समिति गठन
मेलाको मादण्ड तयार गर्न कार्यपालिका बैठकले वडा नं १५ का अध्यक्ष नरेश इवारमको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ । समितिमा वडा नं १२ का अध्यक्ष टंक राई, वडा १० का अध्यक्ष श्रीप्रसाद लिम्बू, वडा १७ का अध्यक्ष मनोज भटराई र वडा १ का अध्यक्ष रोशन अधिकारी सदस्य छन् । समितिमा प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेको एक जना कर्मचारी सदस्य सचिव हुनेछन् ।

संयोजक इवारमले समितिले समयसिमा तोक्ने, राज्यद्धारा निषेध गरिएको कुराहरुलाई प्रयोग गर्न नदिइने, प्रवेश शुल्क तोक्ने, उपमहानगरको आम्दानी(राजश्व) कति लिने भन्ने बिषयमा मापदण्ड बनाउने बताए । ‘विकृति, विसंगति, आर्थिक चलखेल यस्ता कुराहरु हुदैन, हामी पनि त्यसको विरोधी हौं,’उनले भने,‘खुल्लम खुल्ला निर्णय भएको हो, कुनै चलखेल छैन ।’

काग्रेसद्धारा विरोध
कार्यपालिका बैठकले मेला सञ्चालनको अनुमति दिएपछि नेपाली कांग्रेसले विरोध जनाएको छ । मिलेमतोमा मेला लगाउने अनुमति दिएको भन्दै कांग्रेसले शुक्रबार मेलासहित समग्र नगरपालिकाको बिषयमा पत्रकार सम्मलन गरेर धारणा सार्वजनिक गर्ने भएको छ । ‘धरानको मेला विगतदेखि नै वद्नाम छ, त्यही भएर बन्द गरिएको थियो । अहिले फेरी मिलेमतोमा लाग्दैछ । यो कुनै पनि हालतमा हुनुहुदैन,’कांग्रेस नगर सभापति तिलक राईले भने,‘पैसाको विकृति, युवाहरुमा मनमुटाव र झडप निम्त्याउने मेला बन्द हुनुपर्छ, दशैं तिहारको नाममा लुट मच्याउने समुह सक्रिय भएको हो । भोली शुक्रबार पत्रकार सम्मेलन गरेर हामी आफ्नो कुरा गछौं ।’