सुनसरी : २०७५ बैशाख १६ गते झापामा एक १३ बर्षीया बालिका बलात्कारको घटना बाहिरियो । गाउँकै एक युवाले बलात्कार गरेको घटनामा प्रहरीले पक्राउ गरी कानुनी कार्वाही प्रकृया अघि बढयो ।
यस्तै, बैशाखकै २६ गते मोरङको उर्लाबारीमा एक किशोरी सामुहिक बलात्कारको शिकार बनिन । एक सातासम्म गुपचुप रहेको घटना युवतीले पीडा सहन नसकेपछि आफुमाथि भएको ज्यादती साथीलाई सुनाइन् । त्यसपछि मात्र पीडित प्रहरीमा उजुरी गर्न पुगिन् । घटनामा संलग्न ४ मध्ये ३ जना समातिए पनि एक जना अझै फरार छन ।

सुनसरीको धरानमा एक साताबीचमा २ जना माथि बलात्कार भएको घटना सार्वजनिक भयो । वडा नं ११ मा एक बालिकामाथि र वडा ६ पानवारीमा मामा घरमा सुतिरहेकी दिदीबहिनी माथि यौन दुव्र्यवहार भयो । प्रहरीले दुवै घटनाका आरोपितलाई पक्राउ गरी कानुनी कारबाही शुरु गरिसकेको छ ।
माथि उल्लेख गरिएका घटनाहरूले मात्र होइन, प्रदेश १ मा भएको बलात्कारको घटना विवरण केलाउने हो भने अघिल्लो बर्षको तुलनामा दुई गुणाले बढेको देखिन्छ । प्रदेश एकमा बलात्कारका घटनासँगै अपराधिक गतिविधिहरू तेब्बरले बढेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
प्रदेश १ को प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बिभिन्न १४ जिल्लामा लागुऔषधको मुद्दा पछि बलात्कारको घटना बढी देखिएको छ । पछिल्लो आर्थिक बर्ष २०७४/ ७५ मा मात्रै ३ सय ८४ बलात्काका घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो तिन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना भएको देखिएको छ ।
जिल्लातर्फ सबेैभन्दा बढी सुनसरीमा ७८ वटा बलात्कारका घटना भएको देखिन्छ । दोश्रोमा मोरङ ५८ वटा र तेश्रोमा झापा ३८ वटा बलात्कारका घटना भएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम पहाडि जिल्ला तेह्रथुममा १३ वटा मात्र बलात्कारका घटना सार्वजनिक भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, खोटाङ, भोजपुर, संखुवासभा ओखलढुंगा र उदयपुरमा बलात्कारका घटनाहरू न्युन रहेका छन ।
पछिल्लो समय बढदो सुचना प्रविधिको विकासँगै सामाजिक सञ्जाल फेसबुक, इमो लगायतका माध्यमहरुको प्रयोगले यस्ता घटनाहरूलाई पनि बढवा दिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
अघिल्लो बर्ष अपराधिक गतिबिधि बढेकोले अब प्रदेश १ को १४ वटा जिल्लामा नयाँ सुरक्षा रणनीति अपनाइने प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायब महानिरीक्षक (डीआईजी) केदार रिजालले बताए । संघीय संरचना अनुसारकै सुरक्षा रणनीति बनाइने र बिशेष गरी बढी अपराधिक गतिबिधि हुने जिल्लालाई निगरानीमा राखेर काम अघि बढाइने पनि उनले बताए । खुल्ला सिमाना भएका जिल्लाहरूमा थप सुरक्षा स्थिति बलियो बनाउन जनशक्ति बढाउने तयारी भइरहेको पनि उनले बताए ।