धरान: चर्को विरोध र विवाद भइरहेको धरान १२, पब्लिक स्कुलको मैदानमा लाग्ने मेला राती ९ बजेसम्म मात्र लगाउन पाइने भएको छ ।
मेला सम्बन्धी नगर कार्यपालिकाले गठन गरेको अनुगमन समितिले मेलाको सुरक्षा व्यवस्था मजबुत बनाउने र राती बढीमा ९ बजेसम्म मात्र सञ्चालन गर्न मापदण्ड तयार गरेको हो । समितिले तयार गरेको ९ वटा आधारभुत मापदण्डहरु उपमहानगरपालिकाले मेला आयोजक छिमेकी युवा समुहलाई पत्रमार्फत जानकारी गराइसकेको छ । साथै, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र पब्लिक स्कुललाई पनि सो मापदण्डबारे जानकारी दिइएको छ ।

नगर कार्यपालिकाले मेला अनुमति दिने निर्णय गर्दै आवश्यक मापदण्ड तयार गर्न वडा १५ का अध्यक्ष नरेश इवारमको अध्यक्षतामा अनुगमन समिति गठन गरेको थियो । सोही समितिले यो मादण्ड तयार गरेको हो । समितिले मेलाको प्रवेश शुल्क २५ रुपैया तोकेको छ भने राष्ट्रिय कलाकार ल्याउदा बढीमा एक सय रुपैयमा मात्र लिन पाइने जनाएको छ । नेपाल सरकारले निषेध गरेका खेल, जुवाजन्य खेलकुद र समग्रीको प्रयोग गर्न पनि नदिइने उल्लेख छ । यस्तै, मापदण्डको चौथो बुँदामा बढीमा ३० दिन सञ्चालन गर्न सकिने निर्णय भएको हुँदा जति दिन बजार(मेला) सञ्चालन गर्ने हो सोको लिखित रुपमा कार्यतालिकासहित पेश गर्ने पनि उल्लेख छ ।

यस्तै, समितिले मेला अनुमति शुल्क वापत दैनिक ७ हजारको दरले एकमुष्ठ दाखिला गर्ने, बजार तथा मेलामा सञ्चालन गरिने साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको तालिका पेश गरी अनुगमन समितिबाट स्वीकृत गराउने, कार्यक्रमको सुरक्षार्थ स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था कायम गर्ने, भवितव्य र दुर्घटनाको जिम्मेवारी बजार आयोजकको हुने साथै यसको लागि विमाको व्यवस्था गर्ने पनि मापदण्डमा उल्लेख छ । साथै, अनुगमन समितिको प्रत्यक्ष निर्देशन एवं निगरानीमा बजार सञ्चालन गर्ने पनि उल्लेख छ ।

मेला आयोजक समुहका अध्यक्ष राजेन्द्र राईका अनुसार मेला कार्तिक १ देखि २८ गतेसम्म मात्र लाग्नेछ भने सुरक्षाको लागि स्टेज, मुल गेट र पछाडिपटिको गेटमा गरी कम्तीमा ४ वटा सिसिटिभि जडान गरिनेछ । खेलहरु पुर्वपटि राख्ने, हरेक स्टलमा डस्टविन राखेर सरसफाईमा ध्यान दिने साथै बच्चाको मनोरञ्जनहरुमा २० देखि २५ रुपैया र ठुलाको मनोरञ्जनमा १०० रुपैया शुल्क लाग्ने पनि उनले बताए । साथै, आलु, प्याज, नुनतेल, चिनी, लत्ताकपडालगायतको सस्तो बजार पनि लाग्ने उनको दाबी थियो ।