काठमाण्डौ:राजधानीमा नै नक्कली पैसा छाप्ने कारखाना सञ्चालन भइरहेको फेला परेको छ । नक्कली पैसाको कारोबारमा संलग्न रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
प्रहरीले कीर्तिपुर नगरपालिका ४ मच्छेगाउँस्थित कृष्णबहादुर क्षेत्रीको घरका छापा मारर पैसा छाप्ने मेशिनसहित ५ जनालाई पक्राउ गरेको हो । क्षेत्रीको घरमा २ वटा कोठामा कारखाना नै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले क्षेत्रीको घरको पाँचौ तलाका दुई कोठा भाडामा लिएको थियो । सोही कोठामा मेशिन राखेर नक्कली पैसा छाप्ने धन्दा चलिरहेको प्रहरी अनुसन्धानबाट देखिएको काठमाडौंका प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए ।
प्रहरीले नक्कली नोटको कारोबारमा पर्साका कीर्तिपुर बस्ने २७ वर्षी इन्द्रबहादुर श्रेष्ठ र जोरपाटी बस्ने २८ वर्षीय राज श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भइ मुलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, काठमाडौंको कागेश्वरी घर भई कुमारीगाल बस्दै आएका विकास दोचेलाई पक्राउ गरेको छ ।
साथै, प्रहरीले ३ लाख ७० हजार नक्कली रुपैयाँ, एकथान ब्रदर कम्पनीको पैसा छाप्ने मेसिन, २ थान मसिन बट्टा, पैसा छाप्ने पेपर र रबर स्ट्याम बरामद गरेको प्रवक्ता थापाले बताए ।
प्रहरीले वरादम गरेको सामग्री र नगद
प्रहरीले ३ लाख ७० हजार नक्कली नोट वरादम गरेको छ भने एक थान ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन, दुई थान मसी, पैसा छाप्न प्रयोग हुने २ बण्डल पेपर र चार थान मोबाइल पनि वरामद गरेको छ । यस्तै, तीन थान कैची, लालीगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजारको तीन थान नोट, १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल र नक्कली एनआइसी बैंकको चेक बुक पनि वरामद भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


































































