धरान: मेलाको बिषयले मंगलबार धरानमा झडप भएर २ जना घाइते भए पनि पुर्व नेकपा एमाले र उपमहानगरपालिकाले भने मेला लगाउने निर्णयबाट पछि नहट्ने निर्णय गरेको छ ।

मेलाको बिषयमा बुधबार कार्यवाहक प्रमुख मञ्जु भण्डारी, वडाअध्यक्षहरु र एमाले नेताहरुबीच पार्टी कार्यालयमा भएको बैठकले मेला लगाउने निर्णय कार्यान्वयन गर्ने सहमति गरेको हो । एमाले स्रोतका अनुसार मेला आयोजनामा पार्टीका नेता, युवा संघका कार्यकर्तासँगै कांग्रेसका नेता र तरुण दलसम्बद्ध युवाहरुको पनि लाखौं रुपैया लगानी भइसकेको कारण मेला बन्द गर्न नहुने निर्णयमा पार्टी र जनप्रतिनिधिहरु पुगेको हो । ‘यत्रो लगानी भइसक्यो, त्यसैले जसरी पनि मेला लगाउनुपर्छ भन्ने निर्णयमा पार्टी पुग्यो,’स्रोतले भन्यो,‘यसको लागि प्रहरी प्रशासन, विरोधी पार्टी र युवाहरुसँग समन्वय गर्न नेताहरुलाई जिम्मेवारी पनि दिइएको छ ।’

बैठकले प्रहरी प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी कार्यवाहक प्रमुख मञ्जु भण्डारीलाई दिएको छ । यस्तै, मेलाको विरोध गरिरहेका युवाहरुलाई सहमतिमा ल्याउने जिम्मा मिन सुब्बा, पदम इस्पोले पाएको छ । पार्टीले मेलाको विरोध गरिरहेको पार्टीहरुलाई राजनैतिकरुपमा सहमतिमा ल्याउने जिम्मा लिएको स्रोत बताउँछ । उक्त बैठकले मेला नरोक्ने निर्णय गरेको पुष्टि गर्दै धरान उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले मेला आयोजनाको वातावरण बनाउने निर्णय गरेको बताए । ‘सबै पक्षसँग पहल गरेर मेला लगाउने निर्णय भयो । प्रहरीले शान्ति सुरक्षा दिनुपर्छ,’उनले भने । मंगलबार भएको घटना ठुलो नभएको दाबी गर्दै उनले मेला लगाउने निर्णय स्थानीय सरकारले गरेकोले सुरक्षा उपलब्ध गराउने जिम्मा प्रहरीको भएको जिकिर गरे ।

मेलाको विरोधमा नेपाली कांग्रेससहित संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान मञ्च, वाइसिएल, मंगोल नेशनल अर्गनाइजेशन, नेकपा माले र किरात खम्बुवान साझा पार्टी पनि छ । प्रहरी प्रशासनले पनि मेलाले सुरक्षा चुनौती बढाएको भन्दै मेला लगाउने पक्षमा थिएन । जिल्ला सुरक्षा समितिको स्वीकृति विना नै धरानको मेला आयोजना भएको थियो । धरान १२ स्थित छिमेकी युवा समुहले मेलाको स्वीकृति पाएपनि भित्रीरुपमा मेला कांग्रेसका पुर्वनगरसभापति किसोर राई, तरुण दल सम्बद्ध सन्तोष बिक, सम्पुर्ण ताम्राकार, एमालेका मिन सुब्बा, रतन लिम्बुलगायतको लगानी छ ।

युवाहरुबीच ठुलो भिडन्तको खतरा

मेलाले धरानको युवा समुहहरुबीचमा ठुलो भिडन्त हुने खतरा सृर्जना गरेको छ । मेला लगाउने युवाहरु रतन लिम्बु, सन्तोष बिक, सम्पुर्ण ताम्राकार र विरोध गर्ने संघीय समाजवादी, लिम्बुवान सम्बद्ध युवाहरुबीचमा पहिलादेखि नै मिलाप छैन । मेलाको कारण उनीहरुबीचको दुरी झनै बढेको छ । एमालेकै युवा नेता दिवस राई पनि मेलाको पक्षमा छैनन् ।
मंगलबार मेलाको बिषयमा आयोजक पक्ष र विरोधी पक्षबीच भिडन्तको अवस्था आएको थियो । विरोधी पक्षलाई मेलास्थल प्रवेश गर्न प्रहरीले वल प्रयोग गरेर रोकेपछि दुवै भिडन्त हुन पाएन । प्रहरीले विरोधी पक्षलाई नरोकेको भए भिड्न तयारी भएर बसेको मेला पक्षका युवाहरुसँग रक्तपातपुर्ण भिडन्त हुने खतरा थियो । ‘मेलाले धरानलाई पुरानै अवस्थामा पुर्यायो । मेला पक्षधर अहिले मेला नभाडियोस् भनेर चुपचाप छ । तर, पछि यो समुहले एकले अर्कालाई छोड्दैन,’स्रोतले भन्यो । सोमबार मात्र उद्घाटन भएको मेला झडप भएपछि मंगलबारदेखि बन्द छ । मेलास्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

मेलालाई सुरक्षा दिन सकिदैन: सिडिओ

उपमहानगरको नेतृत्व र एमाले पार्टीले जसरी पनि मेला लगाउने निर्णय गरिरहदा जिल्ला सुरक्षा समितिका प्रमुख एवं सिडिओ प्रेमप्रकाश उप्रेतीले भने मेलालाई सुरक्षा दिन नसकिने पुरानै अडान दोहोर्याए । मेलाको बिषयमा गृहमन्त्रालयबाट पनि बन्द गर्न निर्देशन भइसकेकोले पनि मेला नलाग्ने उनको भनाई छ । ‘प्रहरीले नै सुरक्षा संवेदनशीलताको कारण सुरक्षा दिन सकिदैन भनेको थियो, हामीले पनि स्वीकृति दिएका थिएनौं । जर्बजस्ती मेला लागेको थियो,’सिडिओ उप्रेतीले भने,‘जनताको सुरक्षाको जिम्मेवारी हाम्रो हो, मेलालाई सुरक्षा दिन सकिदैन ।’
बुधबार कार्यवाहक प्रमुख भण्डारीले तीन सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेकी थिइन् । उक्त छलफलमा इलाका प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिना, सशस्त्र प्रहरीका डिएसपी र राष्ट्रिय अनुसन्धानबाट पनि सहभागी थिए । छलफलमा डिएसपी तिम्सिनाले सुरक्षा चुनौती, प्रहरीले गरेको सुक्ष्म विश्लेषणको रिपोर्ट लिखितरुपमा बुझाएका छन् । ‘हामीले सुक्ष्मरुपमा विश्लेषण गरेका थियौं । हामीले मेला किन लाग्न हुदैन भनिरहेका छौं भनेर प्रष्टरुपमा कुरा राख्यौं । लिखितरुपमा पनि सुरक्षा बिश्लेषणलाई दिएका छौं,’उनले भने,‘मेला लाग्न हुदैन भन्ने हाम्रो अडान हो ।’

कांग्रेससहित अन्य दलहरुद्धारा मेला बन्द गर्न माग

मेलाले विकृति, विसंगति बढाउने र युवाहरुबीचमा मनमुटाव बढाएको भन्दै नेपाली कांग्रेस र अन्य दलहरुले मेला बन्द गर्न माग गरेको छ । ती दलले मंगलबार भएको झडपको जिम्मेवारी मेलाको स्वीकृति दिने नगर कार्यपालिका र नगर नेतृत्वले लिनुपर्ने पनि बताएको छ । कांग्रेस नगर सचिव युवराज शंकरले विज्ञप्ती जारी गर्दै नगरपालिकाको हठको कारण युवाहरु सजिलै पैसा कमाउने र डन चरित्रमा रम्ने वातावरण बनाउने भन्दै मेला बन्द गर्न माग गरेका छन् ।
यस्तै, संघीय समाजवादी, संघीय लिम्बुवान, वाइसिल, जनमुक्ति पार्टी, मंगोल नेशनल, किरात खम्बुवान साझा पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै मेलाले निम्त्याएको धनजनको क्षति नगर नेतृत्वले लिनुपर्ने भन्दै मंगलबार छुरा प्रहार गर्नेलाई कारबाहीको माग गरेको छ ।