धरान : भारतबाट अवैधरुपमा ल्याएर भण्डारण गरेको ठुलो परिणामको अतिशबाजी तथा पटकासहित ३ जना भारतीयलाई प्रहरीले धरानबाट वरामद गरेको छ ।
बिशेष सुराकीको आधारमा प्रहरीले धरान १०, धर्मपथस्थित एक घरमा छापा मारेर अतिशवाजी तथा पटकासहित भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको विहार राज्यस्थित पुर्णियाका २५ बर्षीय पाण्डव दास, अररियाका ३५ बर्षीय अरविन देव र मध्यपुराका दिलिप दास रहेका छन् । उनीहरु धर्मपथस्थित कुमारी सुनुवारको घरबाट पक्राउ गरिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुको साथबाट २१ बोरा सबै खालको पटकाहरु वरामद भएको छ । यसको बजार मुल्य १० लाख हाराहारीमा भएको प्रहरीले जनाएको छ । कानुनले पटका, आतिसबाजीलगायत बस्तुहरुलाई विष्फोटकजन्य पदार्थमा राखेको छ । जसले गर्दा तिहारमा पड्काउने पटका, अतिसबाजीहरु पनि गैरकानुनी हुन्छ । केरा बोकेको ट्रकमा लुकाएर अवैध सामान आएको सुराकीको आधारमा खोजतलास गर्दै जादा भण्डारण गरिएको अवस्थामा ठुलो परिणाममा विष्फोटकजन्य पदार्थ भेटिएको डिएसपी तिम्सिनाले जानकारी दिए ।
मुलुकी अपराध संहिताको परिच्छेद ७ को विष्फोटक पादर्थ सम्बन्धी कसुरमा सामान्य विष्फोटक पदार्थलाई ३ बर्षसम्म कैद्य र ३० हजार जरिवाना हुने व्यवस्था रहेको छ । उनीहरुलाई बिक्रीबितरण र ओसारपसारमा पनि कारबाही गरिने डिएसपी तिम्सिनाले जानकारी दिए ।