इटहरी :  सुनसरीको इटहरी उपमहानगर २ की कमला बिक आफ्नो १८ बर्षे छोराको नागरिकता बनाइदिन जिल्ला प्रशासनको कार्यालय पुगिन् । कार्यालय गेटमा बसेका सशस्त्र प्रहरीले उनलाई प्रवेश गर्न दिएपनि साथमा आएका छोरा प्रनिसलाई भने प्रवेश गर्न दिएन ।
यसको कारण बुझ्दा जिल्ला प्रशासन कार्यालयमा हाफ पाइन्ट लगाएको व्यक्तिलाई प्रवेश निषेध गरिएको रहेछ । प्रनिसले हाफपाइन्ट लगाएर गएका थिए । उनले नजिकैको कपडा पसलमा नयाँ जिन्सको पेन्ट खरीद गरेर लगाएपछि मात्र कार्यालयमा प्रवेश गर्ने अनुमति पाए । तपाई पनि काम बिशेषले सुनसरी जिल्ला प्रसाशन कार्यालय जादै हुनुहुन्छ भने होसियार बन्नुहोस् । कतै तपाइले पनि हाफ पाइन्ट त लगाउनुभएको छैन रु
अहिले जिल्ला प्रसाशन कार्यालय सुनसरीमा काम बिशेषले आउने सेवाग्राही तथा कर्मचारीहरूलाई समेत हाफपाइन्ट लगाएर प्रवेश निषेध गरिएको छ । यो बिषयले निकै चर्चामा पाइरहेको छ । प्रमुख जिल्ला अधिकारी लगायत प्रशासन संयन्त्रको बैठकले कार्यालय परिसरमा हाफ पाइन्ट लगाउन निषेध गरेको हो । कार्यालयको कामलाई थप मर्यादित, अनुशासितसँगै व्यवस्थित बनाउन कर्मचारीदेखि सेवाग्राहीहरूलाई हाफ पाइन्टमा प्रवेश निषेध गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । यसअघि पनि तत्कालिन सिडिओ गोपाल प्रशाद पराजुलीले यही नियम कार्यान्वयन गर्न खोज्दा उनी विवादमा तानिएका थिए ।
हालका सिडिओ उप्रेतीले कर्मचारी र सेवाग्राहीहरूलाई कार्यालय परिसरमा हाफ पाइन्ट प्रतिबन्ध लगाउदा कसैले खिल्ली उडाएका छन भने केसैले सकरात्मकरुपमा चर्चा गरेका छन् । सिडिओको आदेश भन्दै प्रशासन कार्यालयको गेटमा रहेका सुरक्षाकर्मीहरू पनि सेवाग्राहीहरूको कपडा हेर्ने गरेका छन् । गेटमा खटिएका एक सुरक्षाकर्मीका अनुसार कार्यालय परिसरदमा हाफपाइन्ट प्रतिबन्ध भएको कारण सेवाग्राही, कर्मचारी सबैमाथि निगरानी बढाएको र कसैले हाफ पाइन्ट लगाएर आएको देखेमा गेटबाट भित्र प्रवेश गर्न निषेध गरिएको छ ।
नियम लागु भएको सुरूवाती समयमै कार्यालयका कर्मचारीहरूलाई प्रवेश निषेध गरिएको थियो । प्रजिअ उप्रेतीले अघिल्लो सिडिओको पालामा बनाइएको नियमलाई कार्यान्वयन गरिएको बताए । ‘प्रशासन कार्यालयलाई अनुशासित र मर्यादित बनाउन हाफपाइन्ट प्रतिबन्ध गरिएको हो,’उनले भने ।