धरान : जिल्ला सुरक्षा समितिले सस्तो बजार तथा सुलभ साँस्कृतिक उत्सवको नाममा धरान-१२ स्थित पब्लिक हाईस्कुलको खेल मैदानमा लगाइएको मेलालाई सुरक्षा दिन नसक्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाले सुरक्षाको माग गर्दै पत्राचार गरेपछि शुक्रबार दिउँसो सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले तत्कालको अवस्थामा सुरक्षा चुनौती थपिएको भन्दै मेलालाई सुरक्षा दिन नसकिने निर्णय गरेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।‘मेला लगाउने बिषयमा तत्कालको अवस्थामा सुरक्षा प्रबन्ध गर्न नसकिने निष्कर्ष निकालियो, र सुरक्षा दिन नसक्ने निर्णय गरियो,’प्रजिअ उप्रेतीले भने,‘समग्रमा सुरक्षा फौज नै कमी छ, चाडपर्वको बेला सुरक्षा चुनौती झनै थपिन्छ । एकातिरको फौजलाई लगेर मेलाको सुरक्षा दिन सकिदैन भन्ने निष्कर्ष रह्यो ।’

सुरक्षा समितिले गरेको निर्णय इलाका प्रहरी कार्यालय, इलाका प्रशासनमार्फत उपमहानगरपालिकालाई पनि जानकारी गराइएको छ । सुरक्षा समितिमा धरानको मेलाको बिषयमा विभिन्न कोणबाट व्यापक छलफल भएको प्रजिअ उप्रेतीले जानकारी दिए ।

‘सुरक्षा चुनौती छ, सबै कुरा हामीले खोल्न मिल्दैन,’प्रजिअ उप्रेतीले भने,‘मेलाको बिषयमा विगतमा भएको घटनाहरुलाई पनि केलाइएको छ । अहिले पनि ग्रुपिज्म छ र भिडन्तको खतरा पनि छ । मेलाको पछाडि को को छन्, भनेर पनि सबै हेरेका छौं, विश्लेषण गरेका छौं ।’

उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले भने सुरक्षा समितिको निर्णयप्रति अनभिज्ञता प्रकट गर्दै उपमहानगरले सबै पक्षसँग समन्वय गरेरै मेला लगाउने निर्णय भएको बताए । ‘हामीले सबैसँग समन्वय गरेरै मेला लगाउने भनेको हो । सुरक्षा नदिने भन्ने निर्णय हो भने स्थानीय सरकारलाई असहयोग गरेको अर्थ पनि लगाउन सकिन्छ,’उनले भने,‘यो बिषयमा औपचारिक धारणा सल्लाह गरेर मात्र भन्छौं ।’

विवाद, पैसाको अत्यधिक चलखेल र युवाहरुबीचमा हुने झगडा, भिडन्तको कारण विगत ३ बर्षदेखि धरानमा मेला लगाउन बन्द गरिएको थियो । तर, यो बर्ष नगर कार्यपालिकाले आकस्मिकरुपमा कार्यपालिका बैठकको एजेण्डा बनाएर धरान १२ स्थित छिमेकी युवा समुहलाई मेलाको स्वीकृति दिएपछि विरोध र विवाद हुदै आएको थियो । प्रहरी प्रशासनले पनि सुरक्षा चुनौती बढाउने भन्दै मेला लगाउन स्वीकृति दिएको थिएन ।

गएको सोमबार उद्घाटन भएको मेलाको मुलगेटलाई विरोधी विभिन्न दलका युवाहरुले तोडफोड गर्ने क्रममा झडप भएपछि प्रशासनको निर्देशनमा प्रहरीले बन्द गराएको थियो । चौतर्फ आलोचनाको बीचमा कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी आफै बिहिबार प्रजिअ उप्रेतीलाई भेट्न गएर सुरक्षा प्रबन्धको माग गर्दै पत्र बुझाएकी थिइन् ।

मेलालाई किन सुरक्षा दिन सक्दैन प्रहरीले ?

नगर कार्यपालिकाले सस्तो बजार तथा सुलभ साँस्कृतिक उत्सवको आयोजना गर्न छिमेकी युवा समुहलाई स्वीकृति दिएपनि भित्रिरुपमा लगानीकर्ताहरु अरु नै छन् । मेलाको प्रमुख आयोजना समन्वय गर्नेहरुमा कांग्रेसका पुर्वनगर सभापति किसोर राई र एमालेका मिन सुब्बा हुन् भने तरुण दलसम्बद्ध सन्तोष बिक, सम्पुर्ण ताम्राकार, एमालेको युवा संघआवद्ध रतन लिम्बुलगायत मेला आयोजनाका पर्दा पछाडिका मुख्य पात्रहरु हुन् । प्रहरी तथा सुरक्षा निकायले यिनै पात्रहरुको कारण मेलालाई सुरक्षा दिन नसक्ने बताइरहेको हो । उनीहरु प्रहरीले कडा निगरानीमा राखेको सुचीमा छन् । बिगत केही बर्षयता प्रहरीको गुण्डागर्दीमाथिको कारबाही र नियन्त्रण अभियानले शिथिल हुदै गएको समुहहरु मेला पक्ष र विपक्षमा बाडिएर एकतावद्ध भएई सल्बलाएको सुरक्षा संयन्त्रको विश्लेषण छ ।

यस्तै, मेलाको विरोध गरिरहेका संघीय समाजवादी फोरमसम्बद्ध श्री सुब्बा पनि प्रहरीको कडा निगरानीमा भएका व्यक्ति हुन् । एमालेकै युवा संघ सम्बद्ध दिवस राई मौन बसेपनि मेलाको विपक्षमा छन् । अहिले धरानका राजनैतिक संरक्षणमा रहेका युवाहरु मेला लगाउने र नलगाउने दुई कित्तामा छन् । मेलाको विरोध गरिरहेका श्री सुब्बा र मेला आयोजनाका प्रमुख पात्र सन्तोष बिक, रतन लिम्बुबीच पटक्कै मिलाप छैन । यस्तै, दिवस र सन्तोष, रतनबीचमा पनि ठुलो द्वन्द छ । एउटा समुह मेला लगाएर मनग्ये कमाई गर्न चाहन्छ भने अर्को पक्ष जसरी पनि मेला लगाउन नदिने दाउमा छ । त्यसैले मेलाको कारण धरानमा ठुलो भिडन्त हुने खतरा देखेको प्रहरी एवं सुरक्षा संयन्त्रले शुरुवातदेखि नै मेलाको पक्षमा देखिएको छैन । ‘दुवैतिर आफुले तार्गेट गरेको समुह छ, यस्तोमा कसरी मेला लगाएर सुरक्षा दिनु ?’सुरक्षा स्रोतले भन्यो,‘एउटाले अर्कोलाई जहाँ भेट्यो त्यही सिध्याउने दाउमा छन् । यस्तो बेला मेलाले झन् आगोमा घिउ थप्ने काम गरेको छ ।’

अब के हुन्छ ?

गएको मंगलबार पब्लिक हाइस्कुलको मेला प्रवेश गर्ने गेट भत्काउने क्रममा प्रहरी र मेला विरोधी पक्षबीच झडप भयो । मैदानमा मेला पक्षका युवाहरु पनि तम्तयार बसेको थियो । गेट भत्काएर भित्र जाने क्रममा प्रहरीले बीचमा नछेकेको भए दुवै पक्षभित्र भिडन्त भएर ठुलो क्षति हुने खतरा थियो । त्यसक्रममा २ जना घाइते पनि भए । उक्त घटनापछि मेलालाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

उपमहानगरपालिका र मेला आयोजक जसरी पनि मेला लगाउने भनेर दौडधुप गरिनै रहेको छ । सुरक्षा समितिले सुरक्षा नदिने भनेपछि उपमहानगरपालिकाले के निर्णय गर्छ, त्यो भविष्यले बताउला तर, धरानमा झन् ठुलो सुरक्षा चुनौती बढेर गएको छ ।

मेला आयोजना गर्न नदिदा विरोधी पक्षको जित जस्तो देखिए पनि पर्दा पछाडि रहेका युवाहरुसँग उनीहरुको झन् ठुलो इगो बढेर गएको छ । मेलामा सन्तोष बिक, रतन लिम्बु, सम्पुर्ण ताम्राकारलगायतको लाखौं लगानी भएको बताइएको छ । मेला आयोजना नभए उनीहरुको लगानी खेर जाने भएकोले दुवै समुहको रिसइबी झन् बढेर जानेछ । ‘यसले त झन् ठुलो खतराको संकेत गरिरहेको छ, मनग्ये कमाउला भनेकाहरुले आफ्नो लगानी नै डुबेपछि चुपचाप त बस्दैन, यसले धरानमा झन् ठुलो भिडन्त हुने खतरा देख्छु,’धरानका युवाहरुको गतिविधिलाई नियालीरहेका एक नेता भन्छन् ।