इटहरी: हरेक वर्ष झै कोजाग्रत पूर्णिमा पछिको पहिलो शनिबार पारेर इटहरीमा पनि दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं भन्ने नाराका साथ २४ औं कण्डम दिवस मनाइएको छ ।

इटहरी उपमहानगरपालिका, नेपाल परिवार नियोजन संघ, जिल्ला जनस्वास्थ्य कार्यालय, आम्दा नेपाल, मानव कल्याण समाज,श्रमिक महिला समाज लगायतका विभिन्न संघसंस्थाहरु मिलेर संयुक्तरुपमा कण्डम दिवस मनाएको हो । यौन स्वास्थ्यका लागि कण्डम महत्वपुर्ण भएको कार्यक्रमका सहभागीहरुले चर्चा गरेका थिए । कण्डमको प्रयोगले अनावश्यक गर्भ बस्न नदिने र गर्भपतन गर्नुपर्ने झञ्झटबाट बचाउने भएकोले कण्डमको प्रयोग अत्यन्तै उपयोगी हुने उनीहरुले बताए ।

इटहरीको मुख्य चौक क्षेत्रमा पर्ने रेयुकाई चौतारीमा आयोजित कार्यक्रममा कण्डमको महत्वका विषयमा सन्देशसहित कण्डम वितरण समेत गरिएको थियो । कण्डमको उपयोगिताका विषयमा पत्रकार याम प्रधान, प्रयास महिला समुहकी अध्यक्ष प्रिती सुब्बा, साथी फाउण्डेशनका अध्यक्ष चन्द्र बराल लगायतले चर्चा गरेका थिए । कार्यक्रममा यौनिक तथा लौगिंक अल्पसंख्यक तेस्रो तथा समलिंगीहरुको समेत सहभागीता रहेको थियो ।