तेह्रथुम : तेह्रथुमका २ नगरपालिका र ४ गाउँपालिकाका ४३ वडामध्ये २४ वटा वडा सचिवविहिन छ । सचिव नहुँदा वडा कार्यालयको दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको छ ।
सचिव नहुदा सेवाग्राहीले अनेक समस्या बेहोर्दै आएका छन् । जिल्लामा १९ जनामात्रै सचिवहरु रहेका छन् । ७ वटा वडा रहेको सिंगो आठराई गाउँपालिकामा दुई जनामात्रै सचिव छन् । ५ वटा वडा रहेको फेदाप गाउँपालिकामा ३ जनामात्र सचिव छन् । म्याङलुङ नगरपालिकाका १० वडामध्ये ५ जना सचिवमात्रै कार्यरत छन् भने मेन्छ्यायेम गाउँपालिका र लालीगुराँस नगरपालिकामा दुई–दुई जनामात्रै सचिव छन् ।


मेन्छ्यायेममा ६ वटा र लालीगुराँसमा ९ वटा वडा रहेका छन् । छथर गाउँपालिकाका ६ वटा वडामध्ये पाँच वडामा सचिव कार्यरत रहेका छन् । पर्याप्त कर्मचारी नहुँदा गाउँपालिका र नगरपालिकाहरुले एउटै सचिवलाई ४ वटासम्म वडा कार्यालयको कामको जिम्मेवारी दिएका छन् । आठराई गाउँपालिकाका चित्रकुमार भट्टराईले गाउँपालिकाका १, ३, ५ र ७ नम्बर वडा कार्यालयको काम गर्दै आएको बताए । आफुले गाउँपालिकाका केही शाखाको काम समेत गर्दै आएको उनको भनाई छ ।
कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुन थालेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए । जिल्लाका सबै स्थानीय तहलाई कर्मचारी अभावको समस्याले सताएको छ । सचिव व्यवस्थापनका लागि पटक–पटक प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दा समेत समाधान नभएपछि हाल भएका सचिवहरूबाट काम चलाइएको म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताए । कर्मचारी अभावको समस्या सबै कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईको भनाई छ । कर्मचारीको दरबन्दी अनुसार व्यवस्था गर्न पटक पटक माग गरिए पनि सुनुवाई नभएको गुनासो गरिन् ।