पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आफ्ना नगरका विपन्न विद्यार्थीहरुको प्राविधिक शिक्षाका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको छ । नगरपालिका कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भूवनकुमार धिमालबीच सहयोगको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानले ०६५ सालदेखि विपन्न आर्थिक अवस्था भएकाहरुको शिक्षाका लागि कोषमार्फत आफुले लगानी गर्ने र कमाएर तिर्ने प्राविधिक शिक्षा शैक्षिक उपहार ऋण कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत पथरीशनिश्चरे नगरपालिकाका १७ जना नयाँ गरी हालसम्म ४३ जनाले प्रतिष्ठानमा अध्ययन गरेका छन् ।
सो कोषमा हालसम्म १ करोड १५ लाख बढी रकम रहेको रोजगार परामर्श तथा बजारीकरण अधिकृत भूवनकुमार धिमालले जानकारी दिए । हालसम्म प्रतिष्ठानबाट सीएमए, अनमी, पीसीएल सामान्य चिकित्सा, पीसीएल नर्सिङ, आइएससीएजी बालीविज्ञान, आइएससीएजी पशुविज्ञान, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्राविधिक एसएलसी सिभिल इन्जिनियरिङ र भेट जेटिएका लागि यस प्रकारको उपहार ऋण कार्यक्रम सञ्चालित छ ।