धरान: यमपञ्चक अर्थात तिहारको आज चौथो दिन गोबर्द्धन पुजा हो । आज गोरुको पूजाआजा गरी मनाइँदैछ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबर्द्धन पर्वत मानी पूजा गर्ने परम्परागत चलन छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबर्द्धन पर्वतको पूजा गर्ने गरिएको मानिन्छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ । आजको दिन बिशेष गरी युवाहरु देउसी खेल्ने गर्छन् । विभिन्न क्लब, समुह एवं साथीभाई मिलेर देउसी खेल्ने चलन छ ।