धरान: नेपाल सम्बत ११३९ बिहिबारदेखि शुरु भएको छ । यसको अवसरमा बिहिबार धरानमा वृहत र्याली कार्यक्रम आयोजना भएको छ ।
बिशेष गरी नेवा समुदायमा प्रचलित नेपाल सम्बतको अवसरमा धरानमा झिगु समाजले र्याली आयोजना गरेको हो । धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर मन्जु भण्डारीको प्रमुख आतिथ्यमा उपमहानगर प्रांगणमा आयोजित कार्यक्रममा भण्डारी, बिशिष्ट अतिथि एव प्रदेश सांसद सावित्री श्रेष्ठलगायतले नेपाल सम्बत ११३९ लेखिएको ब्यानरसहित बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । साथै, सोही स्थानमा गोजी पात्रोको सार्वजनिक गरिएको थियो ।

र्याली निस्कनुअघि राष्ट्रिय झण्डा फहराउदै मोटरसाइकल र्याली शुरुवात भएको थियो । त्यसपछि, पैदल र्याली नगरपालिकाबाट निस्किएको थियो । उक्त र्याली छाता चोक हुदै चिनियाँ चोकमा रहेको शंखधर साख्वाको सालिकमा पुग्यो । त्यहाँ सालिकमा माल्यार्पण गरेर र्याली सिद्धि नेवाः परिषद भवनमा पुगेर सभामा परिणत भएको थियो ।