धरान: सरकारले राष्ट्रिय गौरवको आयोजनाकोरुपमा अघि बढाएको कोशी करिडोर २२० केभी प्रसारण लाईन(हाइटेन्सन)को निर्माण कार्य धरानमा आइपुगेर रोकिएको अवरोध पुगेको छ ।

हाइटेन्सनले धरानको प्रस्तावित एयरपोर्टसँगै विष्णुपादुका क्षेत्रका वस्ती, विष्णुपादुकामा केन्द्रीत पर्यटनको पुर्वाधार र सम्भावनाहरुलाई असर पर्ने भन्दै धरान २० स्थित साविक विष्णुपादुकाका स्थानीयहरुले अवरोध गरेका हुन् । प्रसारण लाइन आयोजनाले माछामारामा निर्माण भइरहेको हाइटेन्सनको टावरमा आइतबार स्थानीयबासी गएर रोकेका थिए । स्थानीयले अवरोध गरेपछि टावर निर्माण कार्य स्थगित गरिएको आयोजनाको जनसम्पर्क अधिकारी वसन्त भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार स्थानीयबासीहरु टावर बन्ने बिषयमा पहिल्यै किन जानकारी नदिइएको भन्दै निर्माणस्थलमा पुगेका थिए । राष्ट्रिये गौरवको आयोजना भएकोले केन्द्रीयस्तरबाट नै सबै प्रक्रिया पुरा गरेर मुआब्जा पनि वितरण भई निर्माण कार्य थालिएको भण्डारीको भनाई छ । ‘इआइए, आइइइ सबै भएको छ, मुआब्जा पनि थोरैको मात्र वितरण गर्न बाँकी हो,’भण्डारीले भने,‘काम भईरहेको ठाउँमा केही मानिसहरु आएर किन नसोधी काम गरेको भनेर रोके । हामीले पनि तपाईहरुको कुरा के हो जानकारी लिखित जानकारी दिनुस् भनेका छौं ।’

धरान नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का मणिराम राईले हाइटेन्सनले स्थानीयबासीसँगै पर्यटकीय क्षेत्रलाई धेरै असर पुग्ने भएकोले स्थानीयबासीहरु पहिलादेखि नै विरोधमा रहेको बताए । पछिल्लो समय विष्णुपादुका मन्दिर जाने बाटोको विस्तारलाई डिस्टर्ब हुने गरी टावर बनेकोले स्थानीयबासीहरु विरोधमा उत्रिएको आफुले जानकारी पाएको उनले बताए । ‘बाटोलाई डिस्टर्ब हुने गरी टावर बनेकोले काम रोकेको जानकारी पाएको छुँ, यो बिषयमा स्थलगत गएर पनि बुझ्छु,’उनले भने ।

स्थानीयबासीले हाइटेन्सनको एलाइमेन्ट परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन् । स्थानीयबासीसँगै धरान उपमहानगरपालिका नेतृत्वले पनि हाइटेन्सनले धरानको प्रस्तावित एयरपोर्ट, व्यावसायिकरुपमा शुरु भइसकेको प्याराग्लाइडिंगसँगै पर्यटनका अन्य गतिविधिहरुलाई असर पुग्ने भन्दै एलाइमेन्ट सार्नुपर्ने धारणा अघि सारेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको विष्णुपादुका क्षेत्र हुदै भेडेटार पुग्ने हाइटेन्सन लाइनले त्यस आसपासको पर्यटकीय गतिविधि र सम्भावनालाई ठप्प पार्नेछ । यो प्रसारण लाइन नेपालमा अहिलेसम्मकै सबैभन्दा ठुलो क्षमताको हो । जुन प्रस्तावित एयरपोर्टस्थलदेखि ठिक पश्चिम उत्तर धरान २०, विष्णुपादुका हुदै निर्माण हुनेछ । राष्ट्रिय प्राथमिकतामा परेको यो आयोजना अहिले धमाधम निर्माण भइरहेको छ ।