इटहरी: इटहरीमा १६ दिनमात्र होइन बर्षैभरि महिला हिंसा विरुद्धको अभियान चलाइने भएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले पत्रकार सम्मेलन गरि “लैङ्गिक हिंसा र दुव्र्यवहार छैन, हामीलाई स्वीकार” भन्ने मुल नाराका साथ मंसिर ९ गतेदेखि अभियान संचालन गरिने जानकारी दिएकी हुन् । उनले इटहरीलाई लैङ्गिक हिंसामुक्त बनाउन कुनै कसर वाँकी नराखिने पनि जानकारी दिइन् ।

उपमेयर गौतमले १६ दिने अभियानले मात्र नपुग्ने भएकाले पहिलो बर्षमै परिणाम देखिने गरि लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरिने बताइन् । लैङ्गिक हिंसा विरुद्धको अभियानलाई वजारमा मात्र नभई टोल वस्ति सम्मनै पुरयाइने भएको छ । १६ दिने कार्ययोजना सार्वजनिक गर्दै यो अवधिमा वस्तिस्तरमा समेत प्रत्येक वडा कार्यालयको संयोजनमा कम्तिमा १ कार्यक्रम गरिने जनाइयो । सो अभियानमा पुरुषकोसमेत सशक्त सहभागिताका लागि विशेष कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

लैङ्गिक हिंसा विरुद्धको प्रतिकार समूह वनाइने

पत्रकार सम्मेलनमा उपमेयर गौतमले इटहरीका वडा वडामा लैङ्गिक हिंसा विरुद्धको प्रतिकार समूह वनाइने जानकारी दिइन् । प्रतिकार समितिले वडा कार्यालय र वडा मेलमिलाप समितिको प्रत्यक्ष सम्पर्कमा रहेर हिंसा न्यूनिकरणमा काम गर्ने छ ।

न्यायिक र मेलमिलाप समिति प्रभावकारी वन्दै

इटहरीमा न्यायिक समिति र वडा वडामा गठित मेलमिलाप समिति प्रभावकारी वन्दै गएको पत्रकार सम्मेलनमा उपमेयर गौतमले जानकारी दिइन् । १६ महिनाको अवधिमा न्यायिक समितिमा १ सय ३७ वटा मुद्दाहरु आएका छन । ती मध्ये २२ वटाको न्यायिक समितिवाट निर्णय भएको छ । २० वटा मिलापत्र भएका छन ।

६२ वटा मुद्धा प्रक्रियामा रहेका छन । २० वटा वडा मेलमिलाप केन्द्रवाट १सय ३० विवादमा मेलमिलाप भएको छ । मेलमिलापको प्रक्रियामा दुवै पक्षको जीत जीत हुने भएकाले सर्वसाधारण खुशि भएका छन । मुद्दा मामिलामा समय र पैसा दुवै लाग्ने तर आफनै गाँउ ठाँउमा विना खर्च मेलमिलाप हुने गरेकोले सर्वसाधारण उत्साहित भएका हुन् ।