झापा: झापाको अर्जुनधारा नगरपालिकाले नोबेम्बर २५ देखि विश्व भर मनाइने लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुभारम्भ गरेको छ ।

अर्जुनधारा नगरपालिकाको महिला तथा वालवालिका कार्यालयको आयोजनामा सुरुवात गरेको अभियानको पहिलो दिन नगरपालिकाको कार्यालयबाट र्याली शुभारम्भ गरी अर्जुनधारा जलेश्वर धामको परिक्रमा गर्दै शनिश्चरे बजारमा रहेको जेष्ठ चौतारीमा भब्य सभाका बीच उद्घाटन गरिएको थियो । अर्जुनधाराका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सोही नगरपालिकामा कार्यरत महिला तथा वालवालिका शाखाकी प्रमुख उमा अधिकारीले कार्यक्रम औचित्य माथि प्रकाश पारेकी थिइन ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी, विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, नेपाल प्रहरी तथा महिला सेल, सर्वसाधारण आम नागरिकहरुको उपस्थिति रहेको थियो । विभिन्न महिला हिंसा विरुद्धका चेतनामुलक प्ले कार्ड तथा ब्यानरसहित नगर परिक्रमा गरी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट अर्जुनधारा नगरपालिकास्तरीय वाद सञ्जालकी अध्यक्ष निशा कुईकेल, नेपाली कंग्रेसकातर्फबाट प्रतिनिधि सरस्वती सिटौला, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट कमला भण्डारी, अजर्सनधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराई, विर्तामोड अनारमनी इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी कृष्ण प्रसाद कोइराला, अर्जुनधारा नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत पंकज भुर्तेल, सोहि नगरकी उप प्रमूख कमला खतिवडा लगायतले मन्तब्य राखेका थिए । महिला हिंसा विरुद्धको १६ दिने अभियान नोबेम्बर २५ देखि डिसेम्वर १० सम्म विश्वभर सञ्चालन हुदै आएको छ । जस अन्तर्गत नेपालमा पनि देसै भर १६ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाउदै आइएको छ ।