धरान: धरान १७ स्थित उदय सामुदायिक वनमा शिकार खेल्न जादा आफ्नै साथीलाई वदेल सम्झेर गोली प्रहार गरी हत्या गर्ने ५ जनालाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ ।
जिल्ला अदालतबाट मंगलबार पक्राउ अनुमति लिएपछि प्रहरीले उनीहरुलाई भरुवा बन्दुकसहित सार्वजनीक गरेको हो । पक्राउ पर्नेहरुमा धरान १७ उदय टोलका कमल गुरुङ, हेमन राई, आबिश्कार लिम्बु, मोहन बराईली र सन्जेल राई रहेका छन् । सञ्जेल भेनाजुसँग छिन्ताङ दर्शन गर्न गएकोले पत्रकार सम्मेनलमा उनको भने उपस्थिति थिएन । यद्यपी, उनलाई पनि पक्राउ गरेर धरान ल्याउदै गरेको प्रहरीले जनाएको छ । उनीहरुले आफुसँगै शिकार खेल्न गएका उदयटोलका १७ बर्षीय आशिष ठटाललाई मंसिर ८ गते बिहान करिब ३ बजेतिर गोली प्रहार गरी हत्या गरेका थिए ।

आशिष अचानक हराएपछि धेरैतिर सोधी खोजी गर्दा पनि परिवारजनले फेला नपारेपछि दाजु आमोश ठटालले मंसिर १३ गते प्रहरीमा खोजतलास गरीपाउ भनि उजुरी गरेका थिए । ‘उजुरी परेपछि अनुसन्धान गर्दै जादा मंसिर ७ गते बेलुका शिकार खेल्न गएको भन्ने खुल्यो, त्यसपछि कमल गुरुङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा ८ गते बिहान ३ बजेतिर वन्यजन्तु भनेर बन्दुकबाट गोली प्रहार गर्दा आशिषलाई छातीमा लागेर मृत्यु भएको रहेछ,’डिएसपी सुमन तिम्सिनाले भने,‘घटनास्थलमा नै मृत्यु भएपछि वनमा नै खाल्डो खनेर गाडेको वयान दिए ।
हामीले हिजो सोमबार उसले देखाएको ठाउँमा उत्खनन गर्दा आशिषको लाश फेला पर्यो ।’ प्रहरीले आशिषलाई गोली प्रहार भएको भरुवा बन्दुक जंगलमा लुकाई राखेको अवस्थामा फेला पारेको छ भने शिकार खेल्न लगेको अर्को बन्दुक पनि कमलको घर नजिकै लुकाएको अवस्थामा वरामद गरिएको डिएसपी तिम्सिनाले बताए । ‘एक जना उपस्थित नभएकोले अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेका छौ, सञ्जेल पनि आएपछि म्याद थप गछौ,’डिएसपी तिम्सिनाले भने । पक्राउ परेका एक जना भने घटनामा कुनै पनि संलग्नता नदेखिएपछि छोडिएको प्रहरीले जनाएको छ ।