तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बुसँग ०६८ सालमा विवाह गरे । त्यतिवेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विवाह पछिका तीन वर्षसम्म त उनीहरुको सम्बन्ध ठिकै थियोे ।
तर त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालतले २१ फागुन, ०७४ मा उनीहरुको सम्बन्ध विच्छेदको फैसला गर्यो । कलिलैमा विहे गरेका २१ वर्षीय चन्द्रा र २३ वर्षीय मनकुमार अहिले अलग–अलग छन् ।
चन्द्राको जस्तै कथा छ, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २३ वर्षीय पासाङ शेर्पाको पनि । उनले पनि पढ्दै गर्दा पन्धै्र वर्षको उमेरमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–४ का नवीन शेर्पासँग ०६७ सालमा विवाह गरेकी थिइन् ।
तर समय सधैँ एकनाश रहेनँ । विवाह अघि गरेका वाचा कसमहरु विहेपछि रहेनन् । अन्ततः उनीहरुको पनि २ फागुन, २०७४ मा जिल्ला अदालत तेह्रथुमबाटै सम्बन्ध विच्छेदको फैसला भयो ।
धनकुटाकै महालक्ष्मी नगरपालिका–५ की बबिता बस्नेतले पनि १७ वर्षको उमेरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का युवराज बस्नेतसँग ०७२ सालमा विहे गरिन् । तर उनीहरुको पनि सम्बन्ध धेरै टिक्न सकेनँ । जिल्ला अदालतले १० माघ २०७४ मा उनीहरुको सम्बन्ध विच्छेदको फैसला गरेको थियो ।
यी त केही उदाहरण मात्र हुन्, जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीहरुले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि विहे गर्ने उमेर हुँदै गर्दा सम्बन्ध विच्छेद गर्नेको संख्या उच्च रहेको पाइएको छ । जिल्ला अदालतमा पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेदका मुद्धाको संख्या बढ्दै गएको र सम्बन्ध विच्छेद गर्ने अधिकांश महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष हुने गरेको पाइएको हो ।
जिल्ला अदालतको तथ्यांक अनुसार पछिल्ला चार आर्थिक वर्षमा १ सय २३ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । जसमध्ये आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै जिल्लाका ४१ जोडीको कानुनी रुपमा सम्बन्ध विच्छेद भएको छ । त्यसमध्ये आधा बढी जोडीहरुको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ ।
उक्त वर्ष सम्बन्ध विच्छेद गर्ने ४१ जोडीमध्ये १८–२५ वर्षका पुरुष ५ जना र महिला ११ जना रहेका श्रेष्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिए । २५–३० उमेर समुहका महिला ६ जना र पुरुष ७ जना छन् । यस्तै ३१–४० वर्ष उमेर समुहका महिला ११ जना र पुरुष १२ जना रहेका छन् ।
सम्बन्ध विच्छेद गर्ने जोडीमध्ये ४० माथिका महिला २ जना र पुरुष ५ जना रहेका श्रेष्तेदार दाहालले बताए । उनले भने, ‘सम्बन्ध विच्छेदका मुद्धा यसअघि महिलाले मात्रै दर्ता गर्न पाउँथे, पछिल्लो वर्ष फैसला भएका ४१ जोडीमध्ये १८ देखि ३० वर्षका महिलाको संख्या १७ जना रहेको छ ।’
उनले कानुनले सम्बन्ध विच्छेदकालागि दर्ता हुने मुद्धामा वाल विवाह ठहर नगरेपनि सम्बन्ध विच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा विहे गर्ने, भागेर प्रेम विवाह गर्ने र सामाजिक सन्जालमार्फत चिनजान भएर लोभ लालचमा विहे गर्नेहरु बढी भएको सुनाए ।
‘सम्बन्ध विच्छेदका लागि आउनेहरु अधिकांशको प्रेम विवाह भएको पाइन्छ,’ उनले भने, ‘त्यसमध्ये पनि फोन संवाद, सामाजिक सन्जालहरु र कम चिनजानकै आधारमा भएका विवाहरु बढी हुन्छन् ।’
अदालतको तथ्यांकमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७३÷०७४ मा पनि १९ जोडीको सम्बन्ध विच्छेद भएको थियो । जिल्लामा आर्थिक वर्ष २०७२÷०७३ मा ३६ जनाले सम्बन्ध विच्छेद गराएका थिए भने आर्थिक वर्ष २०७१÷०७२ मा २९ विवाहित जोडीले सम्बन्ध विच्छेद गराएका थिए । जिल्ला अदालतमा पछिल्ला वर्षहरुमा दर्ता भएका मुद्धाहरु मध्ये सबैभन्दा बढी मुद्धा नै सम्बन्ध विच्छेदका रहेका छन् ।
साधारणतया श्रीमान् श्रीमतीबीच सामान्य विवादमै हुने कुटपिट, झै–झगडा, यौन हिंसा लगायत घरेलु हिंसाका विषयलाई लिएर महिलाहरुले अंश सहित सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्ने क्रम बढेको श्रेष्तेदार दाहालले बताए ।
सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक–अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्ध विच्छेदको अवस्थामा पुर्याउने गरेको छ । विद्यालय तहमा पढ्दा–पढ्दै विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई बिच्छेद हुने गरेको अधिवक्ता नारायण लुईटेल बताउँछन् ।
जिल्लामा पछिल्ला वर्षहरुमा ६० प्रतिशत बढीले घरेलु हिंसा सहन नसकेरै सम्बन्ध विच्छेदको बाटो रोजिरहेको उनको तर्क छ । अभिभावकले सम्बन्ध विच्छेद गर्दा बाल बालिकाको शिक्षा र मनोविज्ञानमा समेत नराम्रो असर परिरहेको छ ।
बालविवाहको न्यूनिकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको अधिवक्ता लुईटेल बताउँछन् । यसअघि परिवारको सहमतिमा महिलाको विवाह गर्ने उमेर १८ वर्ष र पुरुषको २० वर्ष रहेको थियो ।
तर कानुनले तोकेको उमेरहदको कुनै वास्तै नगरी पारिवारिक असहमतिमा समेत युवा युवतीहरुले आफु खुसी विहे गर्नेक्रम अहिलेपनि रोकिएको छैन । कति युवा युवतीले उमेर नपुगी विवाह गर्छन् ? भन्ने कुनै लेखाजोखा समेत राखिएको छैन । कानुनले बाल विवाहलाई अपराध मानेपनि युवा युवतीहरुले परिवारलाई थाहै नदिई १५–१७ वर्षको उमेरमै विवाह गर्ने गरेका हुन् ।
त्यस्ता विवाह विरुद्ध अहिलेसम्म जिल्लामा कुनै उजुरी समेत परेको छैन । अभिभावककै सहमतिमा हुने विवाहमा समेत उजुरी नपर्ने गरेकाले प्रहरी र अदालतको तथ्यांकमा बाल विवाह नदेखिएपनि गाउँ समाजमा बाल विवाह छ्याप्छ्याप्ती रहेको छ ।
हालै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर अझै बढाएर महिला पुरुष दुवैलाई २० वर्ष तोकेको छ । तर अघिल्लो कानुनी व्यवस्था समेत कार्यान्वयन नभएको अवस्थामा अहिलेको कानुनी व्यवस्थालाई हुबहु कार्यान्वयन गर्न निकै जटिल छ ।
कानुनको कार्यान्वयनमा भन्दा बढी पहिले कानुनी सचेतना वृद्धिका लागि सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको सरोकारवालाहरु बताउँछन् । कम उमेरको विवाहले सानै उमेरमा आमा बन्दा शारीरिक रुपमा कमजोर बन्ने र स्वास्थ्यमा दिर्घकालिन रुपमा असर पर्छ । शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माउँदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्ने लगायतका समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।