धरान: धरान १९ का सन्त तेम्बेले सधै आफ्नो जन्मदिन साथीभाई, परिवारसँग जमघट गरेर मनाउथे । केही महिनाअघि नेकपाका नेता अइन्द्र बिक्रम बेघाले धरान १ स्थित पुर्नस्थापना गृहका असहाय बालबालिका र वृद्धवृद्धाहरुलाई खाना खुवाएर जन्म दिन मनाएको देखेपछि उनलाई पनि प्रेरणा मिलेको थियो । शनिबार मंसिर २२ गते जन्मदिन भएका तेम्बेले बेघाको जन्मदिन मनाउने तरिकाबाट प्रभावित भएर यसपाली आफ्नो ३६ औ जन्मदिन विगतभन्दा फरक तरिकाले मनाए ।

उनले पनि शनिबार पुर्नस्थापना गृहमा आश्रित २५ जना बालबालिका र वृद्धवृद्धाहरुलाई बिहान र बेलुकीको खाना खुवाएर जन्मदिन मनए । यस्तै, उनले धरान ३ स्थित सरस्वती बालआश्रममा रहेका २५ जना बालबालिकाहरुलाई पनि बिहानको खाना खुवाएर जन्मदिन मनाए । खाना खुवाउनु अघि तेम्बेले पुनस्र्थापना केन्द्र र बाल आश्रममा केक काटेर खुशी पनि बाडेका थिए । विगतमा जन्मदिनमा धेरै खर्च गर्ने गरेको तर नेता बेघाको जन्मदिनबाट आफुले प्रेरणा मिलेर आफ्नो जन्मदिनलाई सामाजिक काममा पनि सदुपयोग गर्न सकिने ठानेर यसपाली फरक शैलीमा मनाएको तेम्बेले बताए ।

उनले भने, मलाई अइन्द्र बेघाबाट आफ्नो जन्मदिनलाई सामाजिक काम गरेर मनाउने प्रेरणा मिलेको हो । तेम्बेको जन्मदिन मनाउन पुगेकी प्रदेश १ की सांसद उमिता बराइलीले पनि फजुल खर्च गर्नुुभन्दा सामाजिक काममा खर्च गर्नु ज्यादै प्रसंशनीय कार्य भएको बताइन् । तेम्बेकी श्रीमति, छोरासहित नेकपाका चोत्लुङ,आइन्द्रबिक्रम बेघा, सर्वजित राई लगायत पनि उनको जन्मदिन मनाउन गृह र आश्रम पुगेका थिए ।