धरान:गएका शनिबार लैगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्र्तगत धरानको भानुचोकमा चिया बेचेर संकलन गरेको रकमले धरानका युवा विद्यार्थीहरुले इटहरीस्थित रामजानकी वृद्धा आश्रममा न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका छन् ।
विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुआवद्ध समर्पण अभियान नेपालले आज शनिबार इटहरी १६ मा अवस्थित आश्रममा पुगेर सहयोग गरेका हुन् । समर्पणले २५ हजार रुपैया बराबरको न्यानो कपडा र खाद्यान्न वितरण गरेको अध्यक्ष अनिश भण्डारीले जानकारी दिए । समर्पण अभियानलाई धरान उपमाहनगरपालिका, महिला संजाल उपमहानगर समिति, नवोदय, युएन स्कुल, धरान आदर्शलगायत संघसंस्था एवं शैक्षिक संस्थाले साथ दिएको थियो ।

समर्पणले मंसिर १५ गते शनिबार भानुचोकमा चिया र सेलरोटी बेचेर २३ हजार २ सय ५० रुपैया संकलन गर्न सफल भएका थिए । उक्त संकलित रकममा थपेर समर्पणका युवाहरुले न्यानो लत्ताकडा र खाद्यान्न वितरण गरेका हुन् । कार्यक्रममा ईटहरी १६, पकलीका वडाअधक्ष्य दिपनारायण चौधरी, जानकी वृद्धा आश्रमका अध्यक्ष विष्णु डाँगीको पनि उपस्थिति रहेको थियो । 'यो काम हामी एक्लैबाट मात्र भएको होइन, सबै संघसंस्था, सामाजिक अभियन्ताहरुको साथ र सहयोगबाट भएको हो, सबैप्रति आभार व्यक्त गछौ,' समर्पणका अध्यक्ष भण्डारीले भने ।