काठमाडौंः निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयमा पक्राउ परेका दुई व्यक्तिको डिएनए परीक्षणको रिपोर्ट सबैको लागि तीब्र प्रतिक्षाको बिषय बनेको छ ।
अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेका प्रदिप रावल र विशाल चौधरीले निर्मलाको बलात्कार पछि हत्या गरेको स्वीकार गरेका थिए । अपराध स्वीकार गरेपनि डिएनए परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले वैज्ञानिकरुपमा उनीहरुले अपराध गरे नगरेको पुष्टि हुन भने बाँकी नै छ । त्यसको रिपोर्ट नआएसम्म प्रहरीले उनीहरूलाई सार्वजनिकसमेत गरेको छैन । आज साँझसम्म डिएनए रिपोर्ट आउने प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले भीमदत्त नगरपालिका १८ भगतपुरका रावललाई ६ दिनअघि नियन्त्रणमा लिएको थियो । चौधरीलाई भने रावलकै बयानका आधारमा कञ्चनपुरमा पक्राउ गरी प्रहरीले काठमाण्डौ लगेको छ । प्रहरी प्रमुख आइजिपी सर्वेन्द्र खनाल आफै उपस्थित भएर उनीहरुको वयान लिएका थिए । निर्मला हत्या प्रकरणमा अपराधी पक्राउ गर्न नसकेपछि प्रहरीलाई मात्र होइन, नेपाल सरकारमाथि पनि चौतर्फी दबाब परेको छ ।
विभिन्न प्रमाणले बलात्कार र हत्यामा उनीहरुको संलग्नता देखिएपछि उनीहरू फरक फरक ठाउँमा राखेर प्रहरीले बयान लिएको थियो । डिएनए रिपोर्ट मिलेमा उनीहरू दुवै जना अपराधी हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको छ । आइजिपी खनालले सिआइबीबाट आएको रिपोर्ट गृह मन्त्रालयमा जानकारी दिएका छन् । सिआइबीको अनुसार रावल र चौधरीबाहेकका अन्य केही व्यक्तिहरूको पनि डिएनए परीक्षण भइरहेको छ । विशाल चौधरीसँगै दिनेश चौधरी पनि पक्राउ परेका थिए, तर उनलाई हिरासतमा राखिएको छैन ।