धरान: सामाजिक कार्यक्रम क्रियासिल रहेको धरानस्थित सेवक अभियानले धनकुटाको चौबिसे गाउँपालिका ५ स्थित बोधेमा विपन्न परिवार तथा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बोधेमा एक भव्य कार्यक्रम आयोजना गरी सेवकले ६ वटा विद्यालयका ३ सय ४५ विद्यार्थीलाई कपडा वितरण गरेको हो । उनीहरुले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका थिए भने परिवारका सदस्यहरुलाई कम्बल प्रदान गरेका थिए । सेवकका अभियन्ता राजिव हलवाईका अनुसार विपन्न परिवारलाई सय थान कम्बल विरतण गरिएको थियो । प्रदेश १ का वन, पर्यटन तथा उद्योग मन्त्री जगदीश कुर्सियत, गाउँपालिका अध्यक्ष खजेन्द्र राई, बराह ज्वेलरीका धरान प्रमुख मानबहादुर दियालीलगायतले कपडा वितरण गरेका थिए ।

photo 1 6

पर्यटन प्रर्वद्धनसँगै सामाजिक कार्य गरिरहेको सेवकले चौबिसे क्षेत्रमा नै तेस्रो बर्ष सहयोग कार्यक्रम आयोजना गरेको हो । सेवककी सद्भावनादुतसमेत रहेकी मोडलिङ तथा कोरियोग्राफीमा सक्रिय मेरिना तुम्साको पनि सक्रियतामा चौबिसे क्षेत्रमा बर्षेनी सहयोग कार्यक्रम आयोजना भइरहेको छ । चौबिसे क्षेत्र तुम्साको गृहक्षेत्र पनि हो । कार्यक्रमका संयोजक हरेन्द्र चेम्जोङले आगामी दिनमा थप सहयोग एवं सामाजिक कार्यक्रमहरुलाई वृहतरुपमा आयोजना गर्ने बताए ।