पथरी: मोरङको पथरीशनिश्चरे नगरका महिला अगुवाहरुले लैंगिक हिंसाविरुद्धको अन्तराष्ट्रिय दिवसको १६ दिने अभियानको समापनमा सोमवार ३ वुँदे प्रतिवद्धता जारी गरेका छन् ।
पथरीशनिश्चरे नगरपालिका, ओरेक नेपाल र पथरीशनिश्चरे महिला फेडेरेशनको सहकार्यमा ‘गलत परम्परागत अभ्यासले महिलाका जीवनमा पारेको असर’ विषयक अन्तरक्रियामा त्यस्तो प्रतिवद्धता जारी गरिएको हो । नगरमा हिंसाविरुद्ध सधैं लागि पर्ने, हिंसा पीडितलाई न्यायालय पुर्याएर अधिकार दिलाउने र न्यायिक समितिको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै महिलालाई व्यवसायिक वनाउन प्रोत्साहित गर्ने प्रतिवद्धता घोषणा गरिएको छ । नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले सो प्रतिवद्धता जारी गरेकी हुन् ।
कार्यक्रममा, प्रमुख अतिथि प्रदेश सांसद कृष्णकुमारी राई, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, अखिल नेपाल महिला संघकी प्रदेश सदस्य कृष्णकुमारी विश्वकर्मा, ओरेक नेपालकी उर्मिला निरौला, महिला फेडेरेशनकी गोमा दहाल लगायतले लैगिक रुपमा महिला हिंसामा परेको वताएका थिए । कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, नगर प्रवक्ता यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य अरुणा राईले पनि आफ्नो धारणा राखेका थिए । वडा नम्वर ५ र ६ का लागि हसन्दहमा, ३ र ७ का लागि किराती चोकमा ४, ८ र ९ का लागि शनिश्चरेमा साथै १, २ र १० का लागि नगरपालिका कार्यालयमा यसखाले अन्तरक्रिया कार्यक्रम राखिएको थियो