सप्तरी: विष्णुपुर गाउँपालिका–७ वडालाई विहीबार बालविवाहमुक्त घोषणा गरिएको छ ।
गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । कुल ५ सय १० घरधुरी रहेको यस वडामा यस आवको अहिलेको अवधिसम्ममा नौ वटा विवाह भएको र त्यसमध्ये एउटा मात्र बालविवाह भएको थियो ।

घोषणासभामा वडाध्यक्ष विन्देश्वर साहले २० वर्षभन्दा मुनिका महिलाको प्रजनन अङ्ग पूर्णरूपमा विकसित नहुने र यस्तो अवस्थामा विवाह गर्दा जन्मिने बच्चा र आमाको ज्यान जोखिमपूर्ण हुने बताउनुभयो । कानूनले नै २० वर्षभन्दा कम उमेरको विवाहलाई बालविवाह भन्दै रोक लगाएको छ । वडा नं ७ मा बालविवाह गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्ने र उसको घरका सदस्यले पाउने वृद्ध भत्ता र शौक्षिक छात्रवृतिसमेत बन्द गरिने वडाध्यक्ष साहले बताए ।