सोलुखुम्बु: सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गर्ने गरेको हो ।
कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी हरेक महीनाको अन्तिम दुई दिन लोखिम हाउसले राजधानीबाट सेवा दिँदै आएको छ । गत भदौ महीनामा कोठा भाडामा लिएर सेवा थालिएको वडाध्यक्ष भूपाल सिंह राईले जानकारी दिए । लोखिम हाउसबाट हालसम्म चार पटकमा १३० जनालाई सेवा प्रदान गरिसकिएको छ, जसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउस काठमाडौँले जनाएको छ ।वडा कार्यालय र वडाध्यक्ष स्वयंको पहलमा महीनाको अन्तिम दुई दिन वडाका सम्पूर्ण सेवा काठमाडौँबाटै प्रदान गर्ने सो वडा जिल्लाकै एक मात्र वडा हो ।
एक सेवाग्राही दावा गेल्जे शेर्पाले भने, “वडा कार्यालयको कदमका कारण समय र पैसाको बचत भएको छ, हाम्रा जनप्रतिनिधिदेखि हामी सन्तुष्ट छौ ।” काठमाडाँैमा सञ्चालन गरिने लोखिम हाउसबाट विवाह, जन्म, मृत्यु दर्ता र जग्गाको कागजात मिलाउनेलगायत सेवा लिनेको सङ्ख्या अधिक रहेको वडा अध्यक्ष राईको भनाइ थियो । आफू निर्वा्चित भइसकेपछि जनतामा गरेको प्रतिबद्धता पूरा गर्नको लागि नै लोखिम हाउसको स्थापना गरिएको वडाध्यक्ष राईले बताए ।