झापा:आगामी पुस ४ गतेदेखि हुने १५ औं बार्षिक अनुष्ठान सभ्य र भब्य रुपमा सम्पन्न गर्न कालिकापीठ कालीस्थानले प्रचार–प्रसार तीब्र पारेको छ ।
अनुष्ठानको अवसर पारेर पीठले यसबर्ष नौ दिवसीय श्रीमद्पद्ममहापुराण, धनधान्याचल तथा रुद्राभिषेक महायज्ञको आयोजना गरेको छ । पुष ४ गते शोभायात्रासहित शुरु हुने महायज्ञ पुष १३ गते समापन गरिने पीठका अध्यक्ष ज्योतिष पण्डित लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिए ।

विश्वशान्तिको कामनासहित विद्यालयमा अध्ययनरत बटुकहरुको छात्रबास निर्माणको लक्ष राखेर बार्षिक अनुष्ठानको आयोजना गरिएको पीठका उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिए । उनका अनुसार आचार्यद्वय रघुनाथ रिजाल र यदुनन्दन निरौलाले पुराणमा प्रवचन गर्नेछन् भने आचार्य रामप्रसाद मिश्र, पं.तोयानाथ खनाल शास्त्रीले पाठपारायण तथा पं. नरेन्द्रप्रसाद तिम्सिना शास्त्री यज्ञाचार्य रहेका छन् ।
बैठकले मोहन रिजालको संयोजकत्वमा गठित प्रचार समिति विस्तार गरेको छ । बैठकले नारायण कीर्तन मण्डल, श्रीहरिकीर्तन मण्डली, श्री लक्ष्मीनारायण कीर्तन मण्डली, शिवशक्ति कीर्तन मण्डलीलाई प्रचार–प्रसार उपसमितिको सदस्यमा चयन गरेको छ । यसैगरी महिला मोक्षदा कीर्तन मण्डली, जानकी कीर्तन मण्डली, आनन्दपोखरी कीर्तन मण्डली, संकीर्तन मण्डली, मैत्रेय कीर्तन मण्डली, धर्मज्योति कीर्तन मण्डली र मनास्लु युवा क्लवलाई पनि प्रचार–प्रसार समिति सदस्यमा चयन गरिएको पीठका उपाध्यक्ष लक्ष्मी मिश्रले जानकारी दिए । पुराणको प्रचारका लागि पोष्टर, पम्प्लेट र प्रचार–प्रसार तीब्र पारिएको प्रचार समितिले जनाएको छ । पुराणको प्रचारका लागि आगामी पुष १ गते मोटरसाइकल ¥यालीको आयोजना गरिने भएको छ ।