इटहरी : सुनसरीको तरहरामा शनिबार निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरिएको छ । परीक्षणमा ४ सय ९३ जनाले स्वास्थ्य जाँच गराउदा २७ जनामा मोतिया बिन्दुको लक्षण भेटिएको थियो ।
तरहरा मोडेल एकेडेमीको आयोजनामा भएको उक्त परीक्षणमा आँखा, बालरोग, छाला, नाक, कान, घाँटी रोगको बिशेषज्ञ डाक्टरहरुले परीक्षण गरेका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डा. धनकेशर खड्का र नेत्र ज्योती संघ तथा इटहरी आँखा अस्पतालका संयोजक जयप्रकाश निरौलाले स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रिन्सिपल घनश्याम रिमालले बताए ।

स्थानीय मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै समयमा नै उपचार गराउनु पर्ने भएकोले शिविरको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यहाँ रहेका मानिसहरु स्वस्थ्य र तन्दुरुस्त रहनका लागि शिविरको आयोजना गरिएको हो । उक्त स्वास्थ्य शिविरमा विद्यालयका शैक्षिक प्रमुख बिनोद कार्की, सञ्चालक टेक बहादुर पुरी, हरिलाल चौधरी, गोविन्द सुवेदी, शिक्षकहरु तथा विद्यार्थी लगायतले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।
नेपाल नेत्र ज्योती संघ, इटहरी आँखा अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग रहेको लेखापाल अनिल दाहालले बताए । त्यस्तै, मोतियाविन्दु लागेका २७ जनालाई निशुल्क रुपमा शल्यक्रिया गर्ने विद्यालयका सञ्चालक समिति अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए । स्थानीयहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको उक्त शिविरमा निशुल्क चस्मा र औषधी वितरण गरिएको विद्यालयका प्रबन्ध निर्देशक होमनाथ खड्काले बताए ।