धरान: सामाजिक सञ्जालले कसैको जीवनलाई खुशी बनायो भने कसैको जीवनमा आँशु मात्र दियो । यस्तै, कसैको मनमा गहिरो चोट पुयायो ।

यस्ता अनेकखालका विभिन्न घटनाहरु सार्वजनिक भइनै रहेका छन् । फेसबुक, युटयूब, ट्विटर, विंगो लाईभलगायत सामाजिक सञ्जालमा विभिन्न क्यारिकेचर गरेर भिडियो अप्लोड गर्नेहरु पनि प्रशस्तै देख्न सकिन्छ । अहिले सामाजिक सञ्जाल मानिसको जीवनशैली तथा दैनिक दिनचर्याको मुख्य अंग नै बनिसकेको छ ।

सामाजिक सञ्जाललाई सहीरुपमा प्रयोग गर्नसके राम्रो काम तथा उपलब्धीहरु पनि हासिल हुन्छ भन्ने थुप्रै उदाहरणहरु पनि हाम्रै समाजमा छ । सामाजिक सञ्जालले कसैलाई रातारात चर्चाको शिखरमा पुर्याउछ भने कसैलाई वदनामी पनि दिलाउछ । यस्तै, सामाजिक सञ्जालमा लोकप्रिय बनेकी एक पुर्वेली युवती छिन्, जो आफनै मौलिकता, साँस्कृतिक लयमा ठट्यौली पारामा क्यारिकेचर गर्न निक्कै खप्पिस छिन् ।

लिम्बू टोनमा बोलेर मन्त्रमुग्ध बनाउँछिन् । उनलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले चाप्पेतीकी आमा भनेर चिन्छन् । तेह्रथुम जिल्लाको (साविकको दांगपा) लालीगुराँस नगरपालिका–५ मा जन्मिएकी “चाप्पेतीकी आमा” अर्थात पुष्पाण्जली तिलिङ यतिबेला सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय बनेकी छिन् । उनी हाल धरान १९ बगैँचालाईनमा बस्दै आएकी छिन् ।

लिम्बू भाषामा राखिएको ‘चाप्पेती’ शव्द मौलिक एवं शास्त्रीय शव्द हो । फेसबुक चलाउन थालेको पाँच, छ वर्ष भएको उनी बताउँछिन् । तर चाप्पेतीको आमा बनेर सामाजिक सञ्जालमा औपचारिक रुपमा पाईला टेकेको भने ६ महिना जति भएको छ । घर झगडा, घोष्ट, पदुवाको कम्पिटिसन लगाएत लघु चलचित्र साथै फाईभ इडिएट्स भन्ने चलचित्रमा पनि भुमिका निर्वाह गरेको उनले बताईन् । यसैगरी लिम्बु भाषाको ३ वटा तथा २ वटा नेपाली म्युजिक भिडियोमा समेत देखा परि सकेकी छिन् ।

अहिलेको पुस्ताले आफनो मौलिक भाषा, सँस्कृति बिर्सदै गएका छन । तर उनले अहिलेको पुस्ताकै रुपमा भएपनि “चाप्पेतीकी आमा” बनेर सामाजिक सञ्जालमार्फत जगेर्ना गर्न थालेको बताइन । “घरपरिवार र आफन्त, साथीभाईहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छुँ, केहीले भने यो जमाना कहाँदेखि कहाँ पुगिसक्यो भनेर प्रतिक्रिया दिन्छन्,” उनले भनिन् ।

अरुले जे भने पनि आफुले गरेको कामप्रति आफु सन्तृष्ट रहेको उनले बताईन् । कल्पना लावती “फुलन्देको आमा” र हङ्कङ्मा रहेका “फुलन्देको बाउ” अर्थात चलचित्र निर्देशक मौसम ईम्बुङबाट “चाप्पेतीकी आमा” बन्न प्रेरणा मिलेको उनले बताईन् ।