खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी एक महिलाको गाउँपालिकाले उद्दार गरको छ ।

बन्धक बनाइएकी ३३ वर्षीय रमिला तामाङको मङ्गलबार उद्दार गरिएको हो । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाह भएको ७ वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको थियो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् ।

तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण नदेखिएको अध्यक्ष राईले बताए । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उनको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीहरुको भनाई छ । तामाङको उपचारका लागि तत्काल रु १० हजार सहयोग गरिएको राईले बताए । तामाङका एक छोरी र एक छोरा छन् । उनका श्रीमान् खेती किसानी गर्दै आएका छन् ।