इटहरी: बिहानै एक जना, दुई जना गर्दै थुप्रै युवाहरु गाउँमा भेला हुन्छन् । युवाहरुको हातमा कुटो, कोदालो, झाडु हुन्छ । भेला भएका युवाहरु एकछिन पछि चोक, सडक सफाई गर्न थाल्छन् । यो दृश्य देखेर स्थानीयहरु चकित पर्छन् ।
शनिबार इटहरी २० तरहरामा यस्तै दृश्य देखियो । सडकमा चर्को हर्न बजाउदै गाडीहरु कुदिरहेका हुन्थे । युवाहरु भने वास्तै नगरी सफाइमा ब्यस्त थिए । तरहराका क्रियाशील युवाहरुको पहलमा ३५ औं सातामा सरसफाइ अभियान भएको थियो । लिबरल सोसाइटी नामक सामाजिक संस्था स्थापना गरेर युवाहरुले सडक, चोक, ड्रेन, नाला–पैनीलगायतको सफाई गर्दै आएका छन् ।

लिबरल सोसाइटी तरहराका अध्यक्ष सुभेक्छु देवान राई भन्छन्,‘नाला, पैनीले निकास नपाएका कारण गएको साल बाढीले धेरै क्षति पु¥याएको थियो, यो वर्ष त्यस्तो कुनै पनि दुखद् घटना नहोस् भनेर हामीले सफाइ अभियान चलाएका हौ । निरन्तर सफाई गरिरहदा ड्रेन, नाला, पैनीले निकास पाउने र बाढी आउदा कटान वा क्षति हुनबाट जोगिने उनले बताए । यो टिमले तरहराका प्रायः सबै ठाउँमा सफाइ गरिसकेको छ । युवाहरुले सफाई अभियान मात्रै होइन, अन्य सामाजिक कामसमेत गर्दै आएको छ ।
आगामी दिनमा युवाहरुलाई उत्प्रेरित गराउन सकारात्मक कामको आयोजना गर्दै जाने अध्यक्ष राईको भनाई छ । उनकै नेतृत्वमा यहाँका युवाहरु सामाजिक भावनाले प्रेरित भएर निश्वार्थरुपमा सफाई अभियानमा जुटरहेका छन् । युवाहरु प्रत्येक शनिबार बिहानै कुटो, कोदालो बोकेर तरहरा सरसफाइ अभियानमा जुटिरहेका हुन्छन् ।
युवाहरुको यो टिमले जाडो याममा पनि विहानै उठेर सफाई अभियान सञ्चालन गर्दै आएको छ । ‘समाज रुपान्तरणको लागि पनि सफाई अभियान सञ्चालन गरेका हौ,’अध्यक्ष राईको भनाई छ । अर्का युवा अभियन्ता सविन राईको घर तरहरा भएपनि उनी अचेल विराटनगर बस्छन् । तर, प्रत्येक शनिबार आयोजना हुने सफाई अभियानकै लागि उनी तरहरा आउछन् । ‘हामी युवाहरुले देश बनाउनका लागि पहिले आफ्नै गाउँ बनाउँनुपर्छ,’उनले भने, ‘हाम्रो गाउँ बनाउँनका लागि हामी उत्प्रेरित भएका छौ, यसमा अन्य गाउँलेको पनि सहयोग आवश्यक हुन्छ ।’
शनिबारको सरसफाइ अभियानमा यहाँका बुद्धिजीवीहरुले पनि साथ दिएका थिए । युवाहरु झाडु बोकेर सरसफाइ अभियानमा जुटेपछि स्थानीयबासीहरुले आफ्नो घरअगाडि रहेको नाली, बाटो सफाइ गर्न सघाउ पु¥याएका थिए । युवाहरुले व्यक्तिगत रुपमा पैसा उठाएर झाडु, कुटो, कोदालो किनेर सफाइ गर्दै आएका छन् भने लिबरल सोसाइटी नाम लेखिएका डस्बिनहरू पनि तरहराका मुख्य चौकमा राखेका छन् । विगत ३५ सातायता सरसफाइ अभियानमा जुटेका युवाहरुको काम उदाहरणीय बन्दै गएको छ । युवाहरुको यो कार्यलाई स्थानीयबासी र बुद्धिजीविहरुले मार्गनिर्देशन एवं प्रोत्साहित गर्नु आवश्यक छ ।