तेह्रथुमस : म्याङलुङ नगरपालिका, वडा नम्बर ८ मा बुधबार सार्वजनिक सुनुवाई, ज्येष्ठ नागरिक सहायता रकम वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ ।
नागरिकका गुनासा, समस्या र सुझाव संकलन गर्न नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फे सहितको टोली नगरपालिकाका टोल–टोलसम्म पुगिरहेको छ । सोही अभियान अन्तर्गत भएको कार्यक्रममा वडा क्षेत्रभित्र बसोबास गर्ने २९ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई ढाकाको टोपी र पछ्यौरा ओढाएर नगद २ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको छ । साथै जिल्ला अस्पतालका डाक्टर भुपेन्द्र अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण र परामर्श समेत दिएको छ ।

ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचारका लागि सहायता रकम उपलब्ध गराइएको वडा नं। ८ का वडाध्यक्ष सुनिल लिम्बुले जानकारी दिए । कार्यक्रममा वडाअध्यक्ष लिम्बुले वडाले चालु आर्थिक वर्षमा अहिलेसम्म गरेको प्रगतिबारे जानकारी गराएका थिए ।सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले राखेका जिज्ञासा र प्रश्नहरुको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फे, उपप्रमुख पार्वतीसानु डाँगी, वडाध्यक्ष सुनिल लिम्बु, प्रमुख प्रशाशकीय अधिकृत रामप्रसाद वाग्ले लगायतले प्रष्ट पारे ।
कार्यक्रममा सहभागीले संसारी बजारमा प्रहरी चौकी र सार्वजनिक शौचालय निर्माण गरिदिन माग गरेका छन् । यस्तै वडा कार्यालय भवन निर्माण, शहरी स्वास्थ्य केन्द्र र जनजाति संग्रहालय निर्माणकालागि वडाबासीले नगरपालिकालाई माग गरेका छन् । नगरकै सबैभन्दा दुर्गम वडा भएको भन्दै वडाबासीले सडक यातायातलाई बाह्रै महिना सन्चालनयोग्य बनाउन समेत माग गरेका छन् ।
सहभागीका मागहरुलाई सम्बोधन गर्दै नगरप्रमुख तुम्बाहाम्फेले प्राथमिकताका आधारमा आगामी दिनमा सबै मागहरुप्रति सम्बोधन गरिने बताए । उनले वडा नं। ८ को क्षेत्र अलैँची र अदुवाको पकेट क्षेत्र भएको भन्दै सो खेतीको विकासकालागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै म्याङलुङ नगरपालिका, आठ नम्बर वडा कार्यालयले वडा क्षेत्रका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक र झोला वितरण गरेको छ । वडा क्षेत्रका ६९ जना विद्यार्थीलाई विद्यालय पोशाक सर्ट, पाइन्ट, स्वीटर र झोला वितरण गरिएको वडा सचिव ढुण्डी सुवेदीले बताए । जसमा कोवेक आधारभुत विद्यालयका ३३ जना तथा सरस्वती आधारभुत विद्यालयका ३६ जना रहेका छन् । कार्यक्रम वडा नं ८ का वडाध्यक्ष सुनिल लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।