तेह्रथुम : फेदाप गाउपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई सकुशल स्वदेश फर्काउन ५५ लाख बढी रकम जम्मा भएको छ ।
जोगी बचाऊ अभियानका अभियन्ताहरुका अनुसार जोगीलाई स्वदेश फर्काउनकालागि आवश्यक पर्ने व्लडमनी ६२ लाख रुपैयाँ करिब–करिब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा ५५ लाख रुपैयाँ बढी रकम जम्मा भएको र अझै देश विदेशमा जम्मा भएको रकम आउन बाँकी रहेकाले जोगीलाई स्वदेश फर्काउन आवश्यक रकम संकलन भइसकेको अभियन्ताहरुले जनाएका छन् । जोगीलाई स्वदेश फर्काउन समाजसेवी राधिका पोखरेलले १ लाख रुपैया सहयोग गरेकी छिन् ।

यस्तै युवटुवर भाग्य न्यौपानेले पनि जोगीका बारेमा भिडियो बनाई सहयोग संकलन गरी १० लाख रुपैयाँ एकमुष्ट हस्तान्तरण गरेको अभियान्ता मित्र नेपालीले जानकारी दिए । जोगी २०७० सालमा युएई गएका आफुसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । परिवारका अनुसार २०१४ मे ६ मा खड्गबहादुरसँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए ।
साथी गाडीबाट खसेपछि उनलेले कम्पनीमा खबर गरे । कम्पनीकै गाडीमा राखेर अस्पताल पु¥याउँदा साथीको मृत्यु भएको थियो । फिलिपिनी साथीको मृत्यु भएकै दिन प्रहरीले खड्गबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । पक्राउ परेका जोगीलाई अदालतले साथीको हत्या गरेको आरोप लगाएको परिवारले जनाएको छ । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिराम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।