तेह्रथुम : जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बुधबार म्याङलुङमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय नागरिक सुनुवाई कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी जिल्लाका अगुवा नागरिकहरुले नेपाल प्रहरीको सेवा विश्वासिलो र भरपर्दो बनाउन सुझाव दिएका छन् । सहभागीले मदिरा सेवन, बाल विवाह, घरेलु हिंसा, बाल हिंसा, अत्यधिक गतिमा सवारी सन्चालन लगायत विषयमा नियन्त्रणकालागि सक्रियता जनाउनुपर्ने माग गरेका छन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ तेह्रथुमका सचिव कुमार विशंखेले मदिराजन्य पदार्थको खुला विक्री वितरणका कारण जिल्लामा हिंसाका घटनाहरु बढेको भन्दै मदिरा नियन्त्रणमा प्रहरीले सक्रियता बढाउनुपर्ने माग गरे । महिला अधिकारकर्मी तुलसा कार्कीले बढ्दो बालविवाहका कारण किशोरीहरुमा शारीरिक र मानसिक तथा समाजमा सामाजिक समस्या निम्तिरहेकाले त्यसतर्फ समेत प्रहरीको भूमिका बढाउन सुझाव दिइन् ।

कार्यक्रममा महिला अधिकारकर्मी पुष्पा दंगाल र टंकमाया लिम्बुले प्रहरी सेवाबारे गाउँ गाउँसम्म सूचना पु¥याई सबै प्रकृतिका हिंसा अन्त्य गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएकी थिइन् । सहभागीले बालबालिकाहरुलाई विभिन्न कसुरमा नियन्त्रणमा लिँदा सादा पोशाकमा खटिएर नियन्त्रणमा लिनुपर्ने समेत सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले समेत प्रहरीसँग साझेदारी गरेर नागरिकको शान्ति सुरक्षाकालागि भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा उठेका सवालहरुमाथि जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्कीले सम्बोधन समेत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ, म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित दुई वटा इलाका प्रहरी, १० वटा प्रहरी चौकी, दुई वटा अस्थायी तथा एउटा कारागार सुरक्षा गरी १८ वटा प्रहरी युनिटहरु रहेका छन् । प्रहरीले यही वर्ष प्रहरी सेवाका विषयमा जिल्लाका मोराहाङ, पोक्लाबाङ र लसुने बजारमा नागरिक सुनुवाई कार्यक्रम गरेको थियो ।