धरान: बुधबारदेखि शुरु भएको ३ दिने सुर्य नेपाले इष्टर्न ओपन गल्फ प्रतियोगितामा नेपालका नम्वर वान गल्फर शिवराम श्रेष्ठसहित सञ्जय लामा, रवि खड्कालगायत टप व्यावसायिक खेलाडीहरु स्पर्धामा छन् । यस्ता टप एवं उत्कृष्ट गल्फरहरु सहभागी प्रतियोगिताको पहिलो दिन धरानका २ जना युवा खेलाडीले तारिफ योग्य प्रर्दशन गरेका छन् ।

धरानका प्रतिभाशाली ती युवा खेलाडी हुन्, २३ बर्षीय प्रो.शिवकुमार माझी र २० बर्षीय एमेच्योर खेलाडी शुक्रबहादुर राई । बुधबार एमेच्योरतर्फ शुक्रबहादुर पहिलो स्थानमा छन् भने समग्रमा व्यवसायिक खेलाडी सञ्जय लामासँगै इभन ७० स्कोरसँगै संयुक्त दोस्रो स्थानमा छन् । अर्का व्यवसायिक युवा खेलाडी शिवकुमार एक ओभर ७१ को स्कोर गर्दै पहिलो दिन अन्य ३ व्यवसायिक खेलाडीसँगै संयुक्त पाँचौ स्थानमा छन् ।

शिवकुमार माझी(२३ बर्ष ):

aIMG_8333

शिवकुमारको घर धरान ११ मा पर्छ । उनी क्याडी गर्दै गल्फ कोर्षमा पाइला टेकेका थिए । एमेच्योर खेलाडी हुदा राष्ट्रिय मात्र होइन, नेपालको प्रतिनिधित्व गर्दै एमेच्योर खेलाडीकोरुपमा विभिन्न अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भइसकेका छन् । सन् २०१७ मा भुटानमा भएको प्रतियोगितामा उनीसहितको नेपालको टिम प्रथम भएको थियो भने व्यक्तिगततर्फ उनी तेस्रो भएका थिए । उनले वंगलादेश, भारत, भुटानलगायत देशहरुमा सिनियर एमेच्योर खेलाडीकोरुपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

aIMG_8334

उनी गत सन् २०१७ डिसेम्बरबाट प्रो.टर्न भए । अब उनी एमेच्योर खेलाडी होइनन्, व्यावसायिक हुन् । कुनै पनि युवा गल्फरको सपना व्यवसायिक खेलाडी हुने र विभिन्न टुरहरुमा सहभागी भएर उपाधि जित्ने हुन्छ । गल्फर पहिला एमेच्योर खेलाडी हुन्छन्, र आफ्नो ह्ण्याण्डीक्याप शुन्यमा झारेपछि व्यवसायिक खेलाडी(प्रोफेस्नल) बन्न ट्रायल दिन्छन् । शिवकुमार गत बर्षदेखि व्यवसायिक बनेर विभिन्न गल्फ टुरहरु खेलिसकेका छन् । ‘अहिलेसम्म प्रो.टर्न भएर नेपाल टुरको ६ म्याच खेलिसकेको छुँ,’उनले भने,‘सुर्य नेपालको सेन्ट्रल ओपन, पोखरामा वेस्टर्न, धरानको इष्टर्नलगायत खेलेको छुँ ।’

शुक्रबहादुर राई(२० बर्ष ):

aIMG_8314

धरानका अर्का युवा प्रतिभाशाली गल्फ खेलाडी हुन्, शुक्रबहादुर राई । धरान १९ जिमी मार्ग घर भएका उनी पनि क्याडी ब्वाईकै रुपमा गल्फ कोर्षमा छिरेका थिए । विस्तारै गल्फ खेल्न थालेका उनी धरानको मात्र होइन, एमेच्योरमा नेपालकै प्रतिभाशाली खेलाडीमा दरिए ।

नेपालको प्रतिनिधित्व गर्दै उनले आधा दर्जन भन्दा बढी मुलुकमा गल्फ खेल्न गइसकेका छन् । उनले भारत, मलेसिया, कोरिया, थाइल्याण्ड, भियतनाम, इन्डोनेसिया, भुटान, वंगलादेश, सिंगापुरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए । काठमाण्डौंका खेलाडीहरुसँग छनौट प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुन सकेमात्र नेपालबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइन्छ । यसमा उनी खरो उत्रिएका थिए । भुटानमा २०१७ मा भएको प्रतियोगितमा उनी पनि सहभागी नेपालको टिम प्रथम भएको थियो भने व्यक्तिगततर्फ उनले दोस्रो पुरस्कार जितेका थिए । वंगलादेशमा उनी सहभागी नेपालको टिम दोस्रो भएको थियो ।

aIMG_8310

एमेच्योरमा उनी शुन्य ह्याण्डीक्याप खेलाडी छन् । अब उनी पनि प्रो.टर्न गर्न लायक खेलाडी बनेका छन् । तर, केही समय उनी एमेच्योर खेलाडीकैरुपमा रहने र अझै अनुभव बटुलेर मात्र प्रो.टर्न हुने योजना छ । नेपालमा एमेच्योर खेलाडीलाई पुरस्कारवापत नगद दिइदैन, ट्रफी मात्र दिइन्छ भने व्यावसायिक खेलाडीले मात्र नगद पुरस्कार पाउछन् ।

aIMG_8317