इटहरी :तीन बर्षअघि २० वर्षकै उमेरमा तेह्रथुमकी कविता घिमिरेले सोही ठाउँका दीपेन लिम्बुसँग विवाह गरिन् । आफ्नो जीवन सुखले विताउने आशामा विवाह गरेको दुई वर्ष नवित्दै उनको सपना चकनाचुर भयो ।
श्रीमान दीपेनले विवाह गरेर छोरी जन्मिएको सात महिनापछि रोजगारीको सिलसिलाका लागि मलेसिया गए । त्यसपछि अहिलेसम्म लिम्बूले आफ्नो परिवारको खोजखबर गरेका छैनन् । बिहीबार कविताले आफ्नो दुःख सुनाउँदै भनिन्, ‘मेरो आफ्नो कोही छैन, छोरी सात महिनाको हुँदै श्रीमान् विदेश गएपछि खोजखबर गरेनन् ।’ उनलाई माइती र श्रीमान्को घर दुवैतिरबाट अपहेलना भयो । त्यसपछि सहारा खोज्दै इटहरी १९ मौलिहामा स्थानीय चिनजानकी दिदीका घरमा अहिले सरण लिएर बस्दै आएकी छिन् ।
स्थानीय लिलादेवी घोर्सानेको सहारामा बस्दै आएकी कविता र छोरीको भविष्य अन्यौल बनेको छ । मनभरी पीडा छ, तर पीडा सुनिदिने कोही छैन । ‘दुःख पाएको छु, सहयोग गरिदिने कोही छैन,’ उनले भनिन्,‘मसँग साह्रो गाह्रो पर्दा उपचार गर्ने पैसा छैन, विवाहपछि सपना चकनाचुर भयो ।’ उनले आँफूले सानै उमेरमा विवाह गरेका कारण ज्ञान सीप नभएकाले पनि समस्या रहेको सुनाईन् ।
श्रीमान र माईती पक्षले नै अपहेलना गरेपछि उनी आफ्नो भन्दा पनि अढाई वर्षकी छोरीको बिजोग हुने भावुक हुँदै सुनाउँछिन् । आफूले केही सिप सिकेर जीवन चलाउने अठोट राखेपनि रोजगार नपाएको बताईन् ।


































































