भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरको पौवादुम्मा गाउँपालिकामा सुन बनाइदिने भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतीय नागरिकले गाउँमा सुन बनाइदिने भन्दै सक्कली सुन लिने नक्कली सुन दिँदै ठगी गर्ने ६ जनाको समूह पौवादुम्मागाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सुन पगाल्ने केमिकलसहित ठगी गर्ने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पौवादुम्मा गाउँपालिका वडा नम्बर ४ वास्तिमकी २६ वर्षीया दिलमाया प्रधान, ३४ वर्षीया मेनुका प्रधान, ५६ वर्षीया बेनमाया प्रधानलाई गहना बनाई दिन्छु भन्दै झुक्याएर सुन लुकाएको र त्यसको साटो सुन जस्तो देखिने पहेंलो धातु नक्कली सुनको गरगहना दिएर ठगी गरी अन्यत्र जाँदै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

ठगीमा संलग्न मोतिहारी, अंचल घोडासहन वडा नं १४ सरस्वती चौक विहार भारत बस्ने ३१ वर्षीय लवकुश साह, २२ वर्षीय जितेन्द्र साह, १९ वर्षीय श्रवणकुमार साह, २२ वषर््ीय रविन्द्र साह, १८ वर्षीय रमेश कुमार र ३६ वर्षीय राकेश कुमार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केशव थेवेले बताए ।