राजविराज : सप्तरीको सप्तकोशी नगरपालिकामा एक महिलाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी सप्तकोशी नगरपालिका–१० सन्तपुरकी २६ वर्षीय पादिकी शेर्पा श्रेष्ठको शव शुक्रबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
उनका जेठाजु सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा चन्द्र नहरको शाखा रहेको पानीको खोल्सीमा शव फेला परेको हो । मृतकका पति रमेश श्रेष्ठ वैदेशिक रोजगारका लागि दुई वर्षदेखि मलेशियामा छन् ।

रमेशकी जेठी पत्नीले अर्केसँग विवाह गरेपछि पाँच वर्षअघि भोजपुरकी पादिकीसँग रमेशले विवाह गरेका थिए । पति विदेशिएपछि पादिकी देवर १६ वर्षीय सुब्बा श्रेष्ठ, सौताका आठ वर्षीय छोरा र बहिनीकी चार वर्षीय छोरीसँग बस्दै आएकी थिइन् । टिनको नयाँ घर बनाएको अवसरमा पदिकीले राति घरमै पार्टी गरेकी थिइन् ।
हत्याको आशंकामा प्रहरीले छिमेकी ३६ वर्षीय सन्तोष तामाङ्ग र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ । तामाङ्गको घरबाट रगत लागेको खुकुरी र बञ्चरो फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि मिस्त्री हरेराम र देवर सुव्बालाईसमेत नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ । शव पोष्टमार्टमका लागि राति ८ बजे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।