विराटनगर : मोरङको पथरी शनिश्चरे नगरपालिका १ का एक जना वडासदस्यलाई न्यायिक समितिले सदस्यबाट हटाएको छ ।
वडा सचिव कमल भट्टराईसँग मिलेर एउटा वडाको जग्गा अर्कै वडामा देखाएर खरिद गरेको भेटिएपछि वडासदस्य दुर्गाप्रसाद सिटौलालाई न्यायिक समितिले सदस्यबाट हटाएको हो ।
सिटौलासंगै कीर्ते गरी जग्गा खरिद गर्ने वडा सचिवलाई भने कुनै कारवाही गरिएको छैन ।
स्थानीय ८५ बर्षीया द्रुपदा गजुरेलको वडा नम्बर २ मा रहेको साढे १० कट्ठा जग्गा सिटौला र भट्टराईले वडा नम्बर ३ बाट सिफारिस बनाएर श्रीमतीको नाममा पास गराएका थिए ।
चलनचल्तीको मूल्य भन्दा सस्तोमा कीर्ते गरी जग्गा पास गरेको भन्दै गजुरेलका छोराले न्यायिक समितिमा उजुरी गरेपछि घटना बाहिर आएको थियो ।
जग्गा विवादमा मुछिएको पाइएपछि वडा सदस्य र सचिव दुबैलाई कारवाही गर्न लागिएको पथरी शनिश्चरे नगरपालिकाका मेयर दीलिपकुमार राईले बताए ।








































































