धरान: प्रहरीले धरानबाट लुटपाट र चोरीको मोटरसाइकलको पाटपुर्जा झिकेर बिक्री गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ । गत मंसिर २७ गते धरान १७ सर्दु खोलाबाट मोटरसाइकल, मोवाइल र नगदसहित लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले धरान १६ का ३१ बर्षीय विनोद लिम्बु, धरान १० का २७ बर्षीय लडन अन्सारी, धरान १९ का २९ बर्षीय ङिमा ओङबु शेर्पा, वराहक्षेत्र नगरपालिका ५ का २१ बर्षीय प्रकाश चौधरी र विराटनगर ६ ठेगाना भएका २४ बर्षीय महेश विकलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका अनुसार गत मसिर २७ गते सर्दु खोलामा को २ प ७६२० नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका ६ का बेचन मियाँ र पछाडि सवार भारत, अररिया बस्ने सबुर मन्सुरीलाई २ जना व्यक्तिले लुटपाट गरेका थिए । अपरिचित दुई व्यक्तिले वेचनको मोटरसाइकल, मोवाइल, नगद १ हजार ३ सय लुटेर लगेको थियो भने सबुरको मोवाइल पनि लुटेर लगेका थिए । घटना पछि पीडित बेचनले इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा चोरी भएको मोवाइल धरान १५ का दिपेश परियारले प्रयोग गरेको खुल्यो । प्रहरीले परियारको साथबाट सबुरको मोवाइल वरामद गर्यो । साथै, धरान १९ का २९ बर्षीय ङिमा ओङजु शेर्पा र धरान १६ का ३१ बर्षीय विनोद लिम्बुले मोटरसाइकल लुटेको पनि पत्ता लाग्यो । प्रहरीे दुवैलाई पक्राउ री प्रारम्भिक अनुसन्धान गर्दा चोरी गरेको मोटरसाइकलको पाटपुर्जा खोली बिक्री गर्न धरान १० मा रहेको लडन अन्सरीको मोटरसाइकल ग्यारेजमा दिएको वयान दिएका थिए । प्रहरीले सो ग्यारेजबाट मोटरसाइकलको ईन्जिन फेला पार्यो भने अन्सारीलाई सोधपुछ गर्दा मोटरसाइकलको अन्य पाटपुर्जा धरान १२ स्थित महेश बिकको न्यु पाथिभारा मोटरसाइकल वर्कसपमा राखेको वयान दिए । प्रहरीले उक्त वर्कसपमाबाट पनि अन्य पाटपुर्जाहरु फेला पार्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाइृ जिल्ला अदालतबाट म्याद थप गरी मोटरसाइकल चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।