इटहरी:लायन्स क्लब अफ तरहराले बिहीबार इटहरी १९ मा अवस्थित पञ्चायत रजत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।
जाडोको समयमा अतिविपन्न परिवारका बालबालिकाहरु हाफसर्टमा विद्यालय गइरहेको थाह पाएपछि एक सय ५५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको लायन्स क्लब अफ तरहराका अध्यक्ष पोषराज नेपालले बताए । उनका अनुसार उक्त विद्यालयमा निम्न आर्थिक अवस्थाका विद्यार्थीहरु पढ्ने गरेका छन् । ती मध्ये अधिकांश थारु समुदायका छन् । ‘आगामी दिनमा पनि गरीब, विपन्न परिवारलाई हामी निरन्तर रुपमा सहयोग गर्दै जानेछौ,’ नेपालले भने ।

कार्यक्रमका प्रमुख अतिथि धीरज गुरुङले सन् १९७१ मा मात्रीका प्रसाद कोइरालाले पहिलोपटक नेपालमा विराटनगरबाट लायन्स क्लबको उद्घाटन गरेको र सेवा गर्ने उदेश्यले संस्था स्थापना भएको बताए । तरहरा लायन्सले पनि सेवामूलक काम गरेको भन्दै उनले प्रसंसा गरेका थिए । कार्यक्रममा लायन्स क्लब तरहराका संस्थापक अध्यक्ष मणिराम श्रेष्ठले आफ्नै गाउँ वरिपरी साना तिना समस्या रहेकाले त्यसको न्यूनिकरणका लागि लायन्सले सहयोग गर्ने बताए । तरहरामा पनि सेवा गर्ने उदेश्यले लायन्सको स्थापना गरिएको उनले बताए । कार्यक्रममा लायन्स नेताहरु दीपेन्द्र निरौला, नरनाथ सापकोटा, रेखा गुरुङ लगायतले शुभकामना मंतब्य राखेका थिए ।
उक्त विद्यालयका प्रधानाध्यापक तोक बहादुर वनले यसअघि अन्य संघसंस्थाले सहयोग गरेको भएपनि विद्यार्थीहरु टिर्सटमा मात्रै विद्यालय आउने भएकाले समस्या भएको बताए । उनले भने, ‘विद्यार्थीहरु टिर्सटमा मात्रै आउछन्, लायन्सले स्वीटर वितरण गरेपछि सहज हुने भयो ।’ प्रथम उपाध्यक्ष मेनुका गिरीले स्वागत मंतब्य राखेकी थिईन् भने सचिव दुर्गाप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।