इलाम: आर्थिक अवस्था कमजोर भएका विरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित इलामका सहयोगी हात नामक संस्थामा आर्थिक सङ्कलन वृद्धि हुने क्रम दिनानुदिन बढ्दै गएको छ ।

संस्थाले इलाम अस्पतालमा आउने कतिपय बिरामी आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकी अस्पतालको श्यायामा छटपटाइरहेकालाई उपचारमा सहयोग गर्दै आइरहेको छ । दुई वर्षअघि स्थापित सो संस्थामा दाताको सहयोगले हाल करीब रु २० लाख सङ्कलन भइसकेको संस्थाका अध्यक्ष रतनकुमार चौधरीले बताए । रक्तदाता अगुवा भनेर समेत चिनिने चौधरीले विपन्न बिरामीलाई लक्षित गरी संस्था स्थापना गरेका हुन् । उक्त संस्थामा अध्यक्ष चौधरीले आफ्ना आमाबुबाको सम्झनामा ५ लाख सहयोग गरेका छन् ।

समाजसेवीको अगुवाइमा स्थापना भएको यस संस्थाबाट ६० विपन्न बिरामीलाई उपचार सहयोग गरिएको छ ।
बिरामीको अवस्था हेरी उक्त संस्थाले दुईदेखि रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । पुनः अध्यक्ष चौधरीले नै संस्थामा १ लाख सहयोग गरेका छन् । संस्थामा दुर्गाप्रसाद उप्रेती, हिमालय कर्मचार्य, राजीव जैन, प्रकाश सरिया, प्रयाश शर्मा र प्रज्ववल घिमिरेले ३ लाख प्रदान गरेका छन् ।