धरान: भारतका चर्चित गायक गजेन्द्र वर्मा लाइभ इन धरान कार्यक्रमको आयोजकले छाता चौकस्थित पुर्नस्थापना केन्द्र धरान र एकल महिला जानुका विश्वकर्मा घर निर्माणको लागि आर्थीक सहयोग गरेको छ ।
कन्सर्ट आयोजकले धरान १२ स्थित वर्गर हाउसमा कार्यक्रमको अयोजना गरी पुर्नस्थापना केन्द्रका १८ जना असहाय वालवालिकालाई जाडोमा लगाउने लुगा हस्तान्तरण गरेको थियो । साथै, सोही कार्यक्रममा जानुका विक घर निर्माणका लागि नगद २० हजार पनि हस्तान्तरण गरेको थियो । यही पुष १० गते धरान रंगशालामा गजेन्द्र वर्माको लाइभ कन्सर्ट आयोजना भएको थियो ।
असहाय अपाङ्ग वालवालिकालाई एक थान ज्याकेट, गलबन्दी र एक जोर मोजा पुनस्थापना केन्द्रका संचालक भिम राईलाई प्रदान गरिएको थियो । सहयोग रकम कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरी क्षेत्र न. १ का सभापति सुरेसमान श्रेष्ठ, कार्यक्रमका संयोजक रवि राई र सहसंयोजक रोजन रनपहेलीले संयुक्तरुपमा प्रदान गरेका थिए । एकल महिला विकको घर निर्माणमा पत्रकार जनकऋषि राई र फोटो पत्रकार विकास चाम्लिङ राईले नेतृत्व गरेका छन् । सो नगद उनीहरुलाई नै हस्तान्तरण गरिएको थियो । धरानका पत्रकारहरुले गएको तिहारमा बिकको घर निर्माणमा सहयोगार्थ देउसी पनि खेलेका थिए । कन्सर्टबाट नाफा नभएपनि कार्यक्रम पुर्व नै सहयोगको घोषणा गरिएकोले सहयोग रकम हस्तान्तरण गरिएको संयोजक रवि राईले बताए ।
