धरान: सैनिक आवासिय महाविद्यालय धरानले प्राचीन हरिद्वार चतराधामस्थित जगद्गुरु पीठका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
शुक्रबार चतरास्थित जगद्गुरु पीठ तथा राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान परिसरमा ज्येष्ठ नागरिक सम्मान तथा अन्तर–विद्यालय कला संस्कृति अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरी विद्यालयले न्यानो कपडा वितरण गरेको हो । महाविद्यलयकी सम्पर्क अधिकृत सेनानी सम्झना खड्काले पीठमा रहेका ३० जना ज्येष्ठ नागरिकहरुलाई सिरक हस्तान्तरण गरेकी थिइन् । यस्तै, ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गर्नुका साथै सम्मान पनि गरिएको थियो ।

एक्ट्रिम धरानका प्रतिनिधि भुपाल राईले पनि राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलमका ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । उनले विद्यार्थीहरुलाई कापी–कलम वितरण गरे । वराहक्षेत्रस्थित तोरीबारी खानेपानी तथा सरसफाइ समिति अध्यक्ष डम्बरप्रसाद सिग्देले कार्यक्रमसँगै सहयोग कार्यले विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व बोध हुने धारणा राखे । सेनानी खड्काले किताबी ज्ञानसँगै विद्यार्थीहरुले ज्येष्ठ नागरिकहरुबाट धेरै ज्ञान हासिल गर्न पाउने भएकोले प्रत्यक्ष संवाद गरिएको बताइन् । कार्यक्रममा सैनिक महाविद्यालय, संस्कृत गुरुकुलमका विद्यार्थीहरुले विविध सँस्कृतिक नृत्य, गीत संगीत, कविता पनि प्रस्तुत गरेका थिए ।