सोलुखुम्बु : भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन् ।
पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर तत्काल घर निमार्ण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गर्नुभएको प्राधिकरणका सामाजिक परिचालक माया शेर्पाले जानकारी दिए ।
विसं २०७२ को भूकम्पले लिखुपिके गाउँपालिका साविक गोली–९ का जाङ्बु शेर्पाको घर सर्वेक्षणको क्रममा पूर्णक्षतिमा परेको थियो । पूर्ण क्षतिमा परेको भए पनि तत्काल घर बनाउन नसक्ने भएपछि अनुदान रकम फिर्ता गरेको शेर्पाले बताए ।
अहिलेसम्म सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने तीनजना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयाोजना कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिका–११ का बलबहादुर कार्की र सोलु दूधकुण्ड नगरपालिका– ६ का छिरिङ शेर्पाले यस अघिनै पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरिसकेका छन् ।