तेह्रथुम: २१ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा तेह्रथुममा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा सदरमुकाम र सबै स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी भुकम्पबाट पुर्वसतर्कता अपनाउन प्रचार प्रसार गर्दै राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । २१ औँ भुकम्प सुरक्षा दिवसका अवसरमा जिल्लामा भुकम्पबाट बच्ने उपायहरुबारे सचेतना फैलाउँदै विभिन्न कार्यक्रम गर्ने तय भएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईको अध्यक्षतामा बसेको बैठकले दिवसका दिन अर्थात् माघ २ गते विहान ७ बजे बसपार्कबाट प्रभातफेरी, ८ बजे उद्योग वाणिज्य संघको हलमा अन्तरक्रिया कार्यक्रम र ८ ः ३० बजेबाट नेपाल रेडक्रस सोसाइटी अगाडि रक्तदान कार्यक्रम गर्ने तय गरेको छ । दिवसका अवसरमा रेडियो तेह्रथुम सहित जिल्लाका सन्चार माध्यमहरुमार्फत बहस, छलफल र प्रचार प्रसारका कार्यक्रमहरु समेत गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रभात घिमिरेले बताउनुभयो ।