वुटवल : सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथी अकस्मात् गोली प्रहार भएपछि जवाफी कार्वाही स्वरुप गोली प्रहार गर्दा एक तस्करको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षीय तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथीनै जवाफी फायरिङ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिए ।

प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि एसपी थापाले जानकारी दिए । मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ ।
प्रहरी उपरिक्षक थापाका अनुसार तस्करले चलाएको गोली लागि एक प्रहरी जवान समेत घाइते भएका छन्। उनको बायाँ पाखुरामा गोली लागेको छ भने उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।